
Jiwa Lamichhane
जीवा लामिछाने नेपाली उद्यमी एवम् गैर आवासीय नेपाली सङ्गठन को अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष हुनुहुन्छ। उहाँ गैर आवासीय नेपाली सङ्गठनका संस्थापक सदस्य समेत हुनुहुन्छ।
सन् १९६७ फेब्रुअरी १३ मा चितवन जिल्लाको पदमपुर गाविसमा जन्मिनुभएका लामिछाने अध्ययनले इन्जिनियर, पेशाले व्यवसायी र रूचीले साहित्यकार तथा समाजसेवी हुनुहुन्छ । पिता स्व. खेमलाल लामिछाने र आमा हरिकला लामिछानेको चौथो सन्तानका रूपमा जन्मिनुभएका उहाँ सानैदेखि पढाइमा तेज हुनुहुन्थ्यो । विश्वका विभिन्न स्थानहरूमा घुम्न रूची राख्ने उहाँका 'सरसर्ती संसार', 'देश देशावर' र अक्षत अन्टार्कटिका नामक यात्रा संस्मरणहरू प्रकाशित छन् । यसका अतिरिक्त उहाँका फुटकर साहित्य सिर्जनाहरू गोरखापत्र, मधुपर्क (पत्रिका), कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक लगायत अन्य पत्रपत्रिका तथा अनलाइनहरूमा प्रकाशित भएका छन्। रूस-नेपाल उद्योग वाणिज्य संघको संस्थापक सदस्य रहनुभएका उहाँ गैरआवासीय नेपाली सङ्घको पनि संस्थापक सदस्य हुनुहुन्छ । खेमलाल-हरिकला प्रतिष्ठान, चितवनका अध्यक्ष रहेका उहाँलाई नेपाली समुदायप्रति गरेको योगदानको कदरस्वरूप नेपाल सरकारबाट सन् २०१३ मा प्रवल जन-सेवाश्री पदकबाट विभूषित गरिएको थियो।