मीठो 'नास्पाती' खाएर सुरुभएको मेरो 'रहर' यात्रा, सम्झदा मलाई सदा डरलाग्ने कुरामा गएर अन्त्य हुन्छ- 'बेहुला (बन्ने रहर) !'
यो रहरचाहिँ आजसम्म मभित्र पलाएको छैन- मलाई स्टेज भन्ने साथ नै डर लाग्छ, त्यो चाहे मण्डप होस् या मान्छेहरूको कुनै भीड । म भीडको लागि होइन- म सधैं आफूलाई यही भनेर चित्त बुझाउँछु ।
तर रहर पढिरहदा, मलाई धेरै कुराको रहर जागेर आयो । यसले 'एक टुक्रा रङ' दियो- जसले जिन्दगीमा स्वाद थपिदियो । नोस्टाल्जियाका धर्साहरू एकपछि अर्को गर्दै मेरो मस्तिष्कमा सल्बलाउन थाले । कति ठाउँमा त लाग्यो, म कुनै पुस्तक होइन, आफ्नै जिन्दगी/बाल्यकालको डकुमेन्ट्री हेरिरहेको छु !
म हाँसेँ । रोएँ । मुस्कुराएँ । मलाई घोच्यो । पोल्यो । मनलाई शीतल पनि बनायो- यो 'रहर'को जादु हो !
म 'रहर'सँग प्रेममा परेँ ।
'बोल्ने आँखाहरू' जस्तै यो किताब पनि एउटा बोल्ने मेमोेरी-यन्त्र हो, जसले तपाईंको आफ्नै जिन्दगीलाई रिवाइन्ड गरिदिन्छ । जसले तपाईंलाई तपाईंकै जिन्दगीको किस्साहरू सुनाइदिन्छ ।
'घर छाड्ने योजना'- यहाँ एकपटक नबनाउने को होला र ? यो कुराबाट पनि म अछुतो थिइनँ । हामीले भोगेका/महसुस गरेका कुराहरूलाई यति मीठो तरिकाले कुनै बर्थडे केक जसरी यहाँ पस्किएको छ ।
[ सुरेश बडाल लेखक मात्र होइनन्, सरल, सरस र सुवासित शब्दहरूले बनेका किताब हुन्, ]
हो, 'रहर' अब सुरेश दाइको मात्र रहेन । 'रहर'ले सबै मनहरूको बन्ने/ मनहरूमा बस्ने रहर गर्यो ।
'रहर' तपाईंको पनि हो !
के तपाईले 'रहर'लाई आफ्नो बनाउनु भयो ?
{ “मनको मान्छेलाई बिर्सिनु भनेको त पैतालाको घाउ बिर्सिए जस्तै हुने रहेछ । ट्याक्क खुट्टा टेक्दा झ्वास्स दुखेझैं झलक्क सम्झना आउँदा छुस्स मन दुख्दो रहेछ ।” }

यो किताब अर्डर गर्न यहाँ क्लिक गर्नुहोस् !
Comments