काठमाडौँ। लेखक बुद्धिसागरको उपन्यास 'कर्नाली ब्लुज'को अङ्ग्रेजी अनुवाद प्रकाशित हुने भएको छ। कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद पेन्गुइन-यान्डम हाउसले प्रकाशनमा ल्याउन लागेको हो।
सेप्टेम्बर, २०२१ मा सोही नाम अर्थात् 'कर्नाली ब्लुज' कै रुपमा माइकल हटको अनुवादमा किताब प्रकाशित हुन लागेको लेखक बुद्धिसागर आफ्नो सामाजिक सञ्जालमा बताएका छन्। उनले लेखेका छन्, "शुभ समाचार! कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद पेन्गुइन -यान्डम हाउसले प्रकाशन गर्दै छ, सेप्टेम्बर, २०२१ मा। (सोही नाममा) अनुवादक माइकल हटलाई विशिष्ट अनुवादका लागि हार्दिक धन्यवाद। र धन्यवाद, पेन्गुइन -यान्डम हाउसलाई। यो शुभ क्षणमा सम्पूर्ण प्रियजनप्रति हार्दिक आभार।"
फाइनप्रिन्टबाट प्रकाशित उनको यो पहिलो उपन्यास एघार खण्डमा विभाजित छ। दैनिकी मनोवाद शैलीमा प्रस्तुत पुस्तक पहिलो, दोसो दिन गर्दै एघारौं खण्डमा टुङ्गिएको छ। कर्णाली क्षेत्रको जीवनशैली, त्यहाँको रहनसहन, परिवेश, भाषाशैली, संस्कृतिको सजीव चित्र उतार्ने प्रयास गर्छ, उपन्यास। भाषा झर्रो तर सरल छ। कर्णाली नदीको नीला पानी नै कर्नाली ब्लुज हो भन्ने अर्थ सहज लागे पनि उपन्यासमा जीवनको वास्तविक घटनालाई उल्लेख गरिएकाले ‘ब्लुज’ दुःखको प्रतीकका रूपमा प्रस्तुत छ।
स्रोतः न्युजकास्टनेपाल
Comments