पात्र~अ~सहवास
२०७७ माघ १२ गते अप्सना चौलागाईँ
बनारस १९३८
सारा प्रतिमूर्ति, सम्पदा र कलादीर्घाहरु धार्मिकता र संस्कृतिसँग गाँसिएर आफूलाई प्रस्फुटन गरिरहेका छन् ।
आराधनाको विशेष स्थल काशी । अन्धकारको भक्ति क्षेत्र मणिकर्णिका, जहाँ शिवजीले पार्वतीलाई पर्वतमा छोडेर धेरै समय बिताएका थिए ।
पौराणिक कथाहरुको श्रेय बोकेको बनारस...मोक्षको आकाङ्क्षामा गंगामा स्नान गरिरहेका उपासकहरु ..
टाढाबाट संगीत र स्थानीय तथा पर्यटकीय पादचारीहरुको मिश्रित आवाज । पश्चिम आकाशमा हेर्दा लाग्छ, पृथ्वी सूर्यलाई आफ्नो गर्भमा लुकाउने प्रयास गरिरहेकी छिन् ।
म यहीँ अडिएकी छु । यहाँको इतिहास र दैनिकीसँग एकदम असम्बन्धित र अपरिचित .. भिन्न शताब्दीकी, भिन्न मान्यताकी, नवीन युवती ..।
भनिन्छ, सारा सृष्टि विनाश भएपनि बनारसलाई महादेवले बचाउँछन् । संसारको सबैभन्दा पूरानो सभ्यता यहाँबाट विकसित भएको हो- त्यसैको परिणाम केशर र म जो तत्काल संकोच र कौतुहलताको क्षणभङ्गुरतामा लपेटिएका छौं । सृष्टिको नियम विपरीत म उसको जीवित आभास पाउन सक्दिनँ ।
(वास्तविकता र कल्पना बिचको संघारमा म आफूलाई सम्हालिरहेकी छु । यहाँ प्रसङ्ग विघटन प्रशस्त पाइने छ । )
केशरको रुपराशिलाई म नियाल्छु । विश्वनाथ गल्लीमा रुमलिरहने, विराटनगरको सडकमा डुलिरहने, सन्ध्याको आरतीमा मुग्ध, दालमण्डी बजारमा देखिने.. कान्तिमय, बालसुलभ, संवेदनशील, आकर्षक र स्थिर अनुहार । यौवनाको प्यासले भरिपूर्ण र उसैका अनुसार एक विलक्षण व्यक्तित्व ।
मैले उसलाई कहीँकतै त अवश्य चिनेकी छु किनकि उसका भावनाहरु जो शब्दमा निहित गरिएका थिए तिनको तरंग मेरो कल्पनामा पनि प्रवाह भएका थिए । त्यसैमा बग्दै बग्दै म उसको बनारससम्म आइपुगेकी थिएँ ।
केशर कुनै प्राचिन ढुङ्गामा बसेर लेख्दै थियो । सायद कुनै अर्को कविता: बेङ्गाली, हिन्दी वा नेपालीमा । सायद प्रेम बारे वा कुनै दैविक सौन्दर्यप्रति निष्ठित ।
मेरो उपस्थितीको ज्ञान उसलाई थिएन। ऊ त्यस्तै सौम्य र निश्चल देखिन्थ्यो । म उसको डायरीमा हेर्छु, को होलीन् ती अग्निपुष्प...कामुक ज्वाला..?
नजिकै सर्छु र भन्छु, " मैले तिमीलाई चिनेकी छु ।"
उसको एकाग्रता भंग हुन्छ । दुई बाटुलो कालो आँखा ममाथि पर्छन् । म निहुरिएरै उसको हातमा `अग्निवाटिका´ शिर्षकको किताब राखिदिन्छु । मानौं म हाम्रो अस्तित्वको रहस्य खोल्दै छु । ऊ मलाई किञ्चित विनम्र भावले हेर्छ । मलाई कताकता नौलो लाग्न थाल्छ । म जसको पनि आचरण समात्न सक्छु, स्यामाको लाज ? उसको छाती मै कतै मेरो नयन अल्झिरहन्छन् ।
किताब एकफेर पल्टाइसके पछि ऊ सरल बोलीमा भन्छ ," यदि तिमीले मात्र लेखकको कल्पनालाई विश्वास गरेर मेरो अतित पढेकी छौं भने तिमीले मलाई चिनेकी छैनौं ।"
रत्तसञ्चार तेज हुन थाल्छ । नजानिदो डर पलाउन थाल्छ । कतै उसले मलाई तिरस्कार गरिदिने त होइन ?
"के तिमी त्यो भन्दा भिन्न छौं?"
"म अब तारिणीको कलममा अभिशप्त छैन । लेखकको नियन्त्रणबाट म मुक्त भइसकेँ । म तिम्रो कल्पनामा छु, तर तिमी मेरो अतितमा थिएनौं, वर्तमानमा पनि छैनौं र कहिल्यै हुने पनि छैनौं । तिमीलाई थाहा छ, म तिम्रो मृगतृष्णा मात्र हुँ ।"
गंगाको लहर किनारामा ठोकिँदै- पन्छिदै छ। हरेक गतिमा लाग्छ, ऊ कसैको अवशेषलाई टाढा कतै पुर्याउदै छे । ऊ कसैको स्तुति वा विराग कामनालाई आदान गरिरहेकी छे ।
गंगा, तिमी जीवनको श्रोत हौं र तिम्रै समीप म चौरासी घाट भेट्टाउछु । कुनै दिन, तिम्रो स्पर्श पाए भने म यहीँ कमना राख्छु कि मेरो छेउ रहिरहेको केशरलाई पनि जिवनदान दिनु ! के त्यो सम्भव होला र ?
केशरले छुदाँ मेरो इन्द्रिय गतिशून्य नै हुनेछ । मेरो हृदयमा उसको जुन स्थान छ त्यो भौतिक जगतमा केबल कला/लेखाइको यस्तै क्षणहरुमा जाग्रित हुन सक्छ । म कुनै पनि सिमालाई उलङ्घन गरेर उसको परिपुर्ति गर्न सक्दिनँ । गर्न चाहन्नँ ।
"तिमी यहाँ के कारणले आयौं ?" नरम बोली र जिज्ञासा ।
- "पात्रको अभिलाषाले..."
पात्रको अभिलाषा.. सन्ध्याले केशरलाई सेफालीको निम्ति स्वीकृति दिएपछि उनले पाएकी असम्हार पीडा, प्रसन्नता, रोदन जस्तै मलाई पनि लाग्छ, म कुनै आगोमा पिल्सिदै छु । ईष्र्याको आगो, मिलन अघिनै विछोडको छाया जस्तै आगो, केशरप्रति स्नेह, ममता, तिर्सनालाई सदा मुटुमा थुनिदिनु पर्ने विवशताको आगो ।
किनकि केशर, तिमी शब्दबाट परिणत हुन सक्दैनौं । र म मेरो नजरअघि तिमीलाई धूमिल आकृति जसरी मात्र उभ्याउन सक्छु । जुन तृप्तिलाई चञ्चला, लाली, सन्ध्या, सेफाली, सीता र स्यामाले आफूभित्र सुरक्षित राखेका छन् । जुन अग्निशिखामा तिनीहरु तिमीसँग एकाकार भएका थिए । त्यसबाट म सदा वञ्चित छु । साहित्यको साहयताले हाम्रो भिन्न अस्तित्वलाई मेरो हितमा मोडिदिन, म असमर्थ छु ।
"के लेखकको संसारमा यो सबै थिएन?"
-" थियो, सबै थियो । तर तिमीलाई मैले पहिलोपटक १५ बर्षको उमेरमा भेटेकी थिएँ । जब म आफै संवेगत्मक र वासनामय भावनाको अनुभव गरिरहेकी थिएँ । मेरो लागि ती कुराहरुको परिभाषा सिकाउने, तिनलाई प्रेमसँग जोड्ने प्रमुख भुमिका तिम्रो पनि थियो । मैले तिमीलाई प्रेम गरेकी थिएँ... केशर ।"
गाढा मौनता । घामको झलक आकाशबाट हराइसकेको छ ।
केशर एकटकले गंगा पारिको अन्धकारलाई हेरिरहन्छ । बस्, केही पल र ऊ पनि त्यसैमा मिसिने छ । हामीबीच मात्र अन्धकारले प्रवेश गर्न बाँकी छ ।
नजिकै लाश पोलेको गन्ध आउँछ । समयलाई छल्न सकिदैन । मानिसको चेतनाको सबैभन्दा ठूलो आविष्कार मृत्यु र त्यसैसँग टासिंएर आएको समय ! तिमी त यो सबैबाट निर्भय छौं- तिमीलाई सधैं म जस्तो पाठकले शाश्वत राख्ने छन् ।
एउटा प्रश्न म उसको सामु राखिदिन्छु, "के सामाजिक सम्बन्धबाट टाढा, मात्र अप्राकृतिक वस्तुसँग आत्मीय रहिरहनु ठिक हो ? तिमीलाई के लाग्छ ?"
ऊ मौन छ । लाग्छ, आफ्नो व्यक्तिगत अनुभूतिसँग जोडेर यस बारे मनन गरिरहेको छ।
एकैछिन पछि छेउमा रहेको किताब `अग्निवाटिका´ ऊ मलाई दिन्छ।
कहिल्यैसम्म थाम्न सक्छु म यो मौन उत्तरलाई ?
"अप्सना..."
यहीँ नाम जब उसको स्वरसँग मिसिन्छ, मलाई लाग्छ, भरखरै मेरो आत्मबोध तिव्र भएको छ, भरखरै मैले आफ्नो प्रतिबिम्बको केही अंशलाई आफैमा समाहित गरेकी छु । आफूहुनुकोस्पष्ट सम्झना, हृदय थामिएको जस्तो... अप्सना .. थोरै छट्पटी, थोरै विद्रोह..।
उसको हात मेरो काननेर बहलिन थाल्छ । म निर्निमेष उसको विभोरतामा लत्पतिएको आँखा हेर्छु । मात्र यो भन्न कि मैले आफैले आफैलाई समर्पण गरिसकेँ ।
तारणीले जति बयान गरेका थिए, त्योभन्दा बढी सुकुमारता म उसमा पाउँछु । फेरि उही पुरुषवासना, पुरुषसंसर्ग, पुरुष छत्रछाया, प्रणयको तृष्णा..।
ऊ मेरो निधारमा चुम्बन गर्छ । म कृतज्ञता र समानुभूतिले पग्लिदै जान्छु । सधैं नै यस्तो लाज उब्जिन्छ, उसकोअघि । मानौं पहिलो प्रेमको अनुराग र पश्चातापको स्मरण छातीमा सल्बलाउन थालेको छ ।
'A writer should fall in love with tragedy.'
गोरेटोहरुमा ऊ विलिन हुन्छ । भ्रामिक स्मृति बटुलेर म एक्लै वास्तविकतामा फर्किन्छु । उसको उमेर १७ बर्ष मै अडिन्छ । उसको स्वरुप कान्तिमय नै रहन्छ। ऊ अझैपनि पात्र नै हो । म अझै उबाट प्रेरित भइरहन्छु।
केशर तिमीले लेखेको गीत ,
मुझको मेरी नींद मे तुँ छोड दो ।
इस सुनहले ख्वावको मत तोड दो ।
मुझको अकेला छोड दो ।
जागूँ तो फिर से हलेजा जल उठेगा ।
जिन्दगी बेकार था बेकार होगा ।
कुनै दिन यो परिवेश सजिव भएछ भने म यहीँ गुन्गुनाउने छु । यदि मोक्षको चाहना विना बनारस आए भनेँ, म यहाँका मन्दिरहरुमा तिम्रो आभा खोज्ने छु । प्रेमिका जसरी तिमीलाई यहीँ पर्खने छु । तिम्रो आँखाहरुबाट यहाँको महत्त्वलाई आत्मसात गर्न सिक्ने छु ।
त्यसै यात्रामा तिमी सहभागी भयौं भने केशर, तिमी त्यस यात्रामा आयौं भने.. म मात्र यति आग्रह गर्ने छु कि मलाई पनि तिमी सँगै लैजाउ ! म यो सपनाबाट बिउँझिन चाहन्नँ ।
Comments