मनुजबाबु मिश्र एक कुशल चित्रकार सँगैसँगै एक कुशल निबन्धकार पनि हुन् । “एकलानुभूति” उनको हालै प्रकाशित भएको कँति हो ।
फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित भएको यो निबन्धसङ्ग्रह- “एकलानुभूति”मा छ ओटा विभिन्न निबन्धसङ्ग्रहका ११८ निबन्धमध्येबाट चुनिएका निबन्धहरू समावेश गरिएको छ । विभिन्न धार र शैलीका उत्कृष्ट निबन्धहरू सङ्ग्रहित छन्, जसको अध्ययनले कता कता हृदयको अन्तरकुन्तरलाई मीठोसँग स्पर्श गरेको अनुभूति हुन्छ ।
लेखकले पुस्तकमा आफ्ना विभिन्न अनुभवहरू पस्किएका छन् । कलाकार दृष्टिमा र निबन्धकार दृष्टिमा । आफैँ एक पोख्त चित्रकार भएका नाताले चित्रकृतिको बारेमा धेरै दृष्टान्तहरू दिएका छन् । अध्ययनकालमा अनि विभिन्न कार्यक्रमको दौरानमा विश्वका अनेक स्थानहरू पुगेर कलामार्फत् आफ्नो जाति र संस्कृतिको प्रदर्शन गर्दा भोगेका रमाइला र रोचक कुराहरूलाई आफ्नो सुगम भाषामा व्यक्त गरेर नेपाली जातिप्रति गौरव पनि गरेका छन् ।
उनले २०५२ सालमा प्रकाशित “तरङ्ग तरेली” निबन्ध सङ्ग्रहमा रहेको “प्रजातन्त्रको पोट्रेट” निबन्धमा प्रजातन्त्रको चित्रकृति उतार्न प्रजातन्त्रको लिङ्ग, वर्ण र स्वरुप थाहा पाउन परेको अप्ठेरोलाई यति मीठो तरिकाले व्यक्त गरेका छन् कि त्यो एकातिर सरस व्यङ्ग्य जस्तो प्रतीत हुन्छ भने अर्कोतिर स्वैरकाल्पनीक यथार्थजस्तो साँच्चै प्रजातन्त्र भन्ने केही जिनिस नै हो कि जस्तो पनि आभास हुन्छ ।
“मान्छे जस्तै यो पनि उदाउँछ, बढ्छ र सड्छ । यो पनि देख्न, छुन, सुँघ्न, खान र लाउन सक्छ । एउटा मान्छेमा हुने सम्पूर्ण मानवी र दानवी गुण, अवगुण यसमा पनि छन् ।”
“मान्छेकै आकारको धातु रङको रातो लुगा लगाएको, लिङ्ग छुट्याउन नसकिने आधुनिक “पप” युवा जस्तो, डरलाग्दो अणुबम काँधमा हालेको, कालभैरवको जस्तो भयावह मुख भएको, ……..”
उनी स्वच्छन्दवादिता, प्रभाववादिता र मानवतावादिता विभिन्न तरिकाले यस पुस्तकभरि प्रस्फुटित भएका छन् । आफ्नो अध्ययनशील जीवनको चरितार्थ दृष्टान्त दिने क्रममा विभिन्न कवि, साहित्यकार र लेखकहरूका किताब वा भनाइहरू उद्धृत पनि गरेका छन् ।

यो किताब अर्डर गर्नका निम्ति यहाँ क्लिक हर्नुहोस् !
Comments