समसामयिक साहित्यको क्षेत्रमा एक नवीनतम कृति “रूखहरूको मृत्यु“ बजारमा आएको छ । जहाँ विभिन्न तरिकाबाट समाजका हरेक क्षेत्रका मानिसहरूको संङ्घर्ष उतारिएको छ । पुस्तक “रूखहरूको मृत्यु“ का लेखक प्रशान्त शर्मा हुन् । उनको जन्म भैरहवा, रुपन्देहीमा भएको हो ।
लेखक शर्मा पत्रकारितामा स्नातक तहमा अध्ययनरत छन् । उनको पहिलो कृति हो “रूखहरूको मृत्यु“।
किताबभित्रका केही आफ्ना विचारहरू लेखक शर्मा यसरी पोख्छन्- “यो मेरो पहिलो कृति हो- "रूखहरूको मृत्यु"। जसमा एउटा सामान्य व्यक्ति, जो जीवनका अनेकौं आयाममा बाँचिरहेको हुन्छ, उसको कथा व्यथा हो ।" उनी यस पुस्तकले एक मानिसलाई समय र नियतीले कसरी डोर्याउँछ भन्ने कुरालाई प्रस्तुत गरेको बताउँछन् ।
उनी भन्छन्, "एक मानिसको जीवनमा प्रेम, परिवार, पेशा र अन्य यावत तत्वहरुले के कस्ता प्रभाव पार्छन् र त्यसको असर कस्तो किसिमको हुन्छ भन्ने कुरा पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।"
एक व्यक्तीले गर्ने सामन्य प्रेमसँगै सम्बन्धहरुको घनचक्करमा अल्झिएको उसको जीवनको एउटा कालखण्ड समग्रमा प्रेमको वरिपरि घुमेर लेखिएको एउटा पेशावरको कथा हो । युवा साहित्यकार शर्माको कृति “रूखहरूको मृत्यु“ निकै ठुलो प्रतिक्षा पश्चात् बजारमा आएको छ । पुस्तक दशैैं अघि नै बजारमा ल्याउने प्रकाशकको दावी थियो । तर कोरोना महामारीको कारणले यस पुस्तक मंसिर २५ गते बाट मात्र बजारमा आएको हो । लेखकका अनुसार उपन्यासलाई असोजमा नै सार्वजनिक गर्ने तयारी भएता पनि कोरोना संक्रमणको जोखिमसँगै अन्य प्राविधिक कारणले केही पछि धकेलिएको लेखकको भनाइ छ ।
२६६ पृष्ठ रहेको यस पुस्तकको मुल्य ३५० रहेको छ । पुस्तक पाठकको सुविधाका लागि होम डेलिभरी र अनलाइन मार्फत मगाउन सकिने र बजारमा पुगिसकेको प्रकाशकले जनाएका छन् ।

Comments