मोक्षभूमिः ‘लङ्ग वाक टु फ्रिडम’
२०७७ मंसिर २६ गते Ritesh
नझुक्किनुस्, म यहाँ साउथ अफ्रिकाको प्रथम अश्वेत रास्ट्रपति 'नेल्सन मन्डेला'को आत्माकथा ‘लङ्ग वाक टु फ्रिडम’ को चर्चा गर्न लागिरहेको होइन । म यहाँ आख्यानकार 'केशव दाहाल'को उपन्यास 'मोक्षभूमि'को चर्चा गर्न लागिरहेको छु । कथा फरक भएता पनि यी दुई कृतिका आत्मा एकै हुन्, ब्यथा एकै हो- 'दासता' !
चाहे कुनै फिल्म / सिरिज हेर्दा होस् अथवा कुनै पुस्तक पढ्दा म क्रिटिक्स् भन्दा पनि आम दर्शक, पाठक भएर त्यसलाई हेर्ने, पढ्ने गर्छु । भनिन्छ, क्रिटिक्स भएर, बनेर हेर्दा, पढ्दा, धेरै कुराहरु छुटिन्छन् । त्यसो गर्दा कुनै पनि सिर्जनाको, कलाको वास्तविक मजा लिन सकिँदैन ।
तीन दिनसम्म मजा लिएर 'मोक्षभूमि' पढेँ । सिंजाबाट देवचुली हुँदै मायाबेँसी झरेँ । त्यहाँबाट चुलाचुली अनि त्यो पार गरेर निर्जन लेक पुगेँ । कालो पहाड हुँदै गण्डकी किनार, त्रिशुली किनार पुगेँ । त्यहाँबाट कुशिनगर आइपुगेँ । अन्त्यमा मोक्षनगरमा विश्राम लिएँ । म पनि सिंजाबाट 'सत्यदेव'ले नेतृत्व गरिरहेको नौं हजार मुक्त दासहरुमा सामेल भएँ ।
मोक्षनगरका जननायक 'भार्गदेव'ले कवि 'श्वरदेव'लाई दासहरुको गाथा अमर-अजर बनाउन उनीहरुको इतिहास लेख्ने काम सुम्पिन्छ । श्वरदेव लेख्न बस्छ । लेख्न बस्दा कहिले इतिहास कथा जस्तो कहिले कथा इतिहास जस्तो बन्न पुग्छ । अन्त्यमा उसले कथा लेख्ने निर्णय गर्छ । मोक्षभूमि इतिहास होइन कथा हो । दासहरुको कथा ।
मोक्षभूमि कथा भएतापनी यसले सम्पुर्ण मानव जातिको इतिहास बोकेको छ । त्यहाँ भित्र हामीले हाम्रो पुर्खाहरुको आँसु भेट्छौँ । पसिना भेट्छौँ । रगत भेट्छौँ । त्यहाँको धर्म, जात, सँस्कृती, सभ्यता, पद्धति ती सबै हाम्रो समाजबाट टाढा छैनन् । हाम्रो समस्या एउटै छ । समय एउटै छ । सवाल एउटै छ ।
मैले यो भन्दा अघि खासै दासहरुको कथा, इतिहास पढेको थिएन । तर, श्वरदेवले दासहरुको कथा लेख्न बस्दा मलाई टिभी सिरिज "SPARTACUS" को झझल्को आइरहेको थियो । मलाई लागेको थियो, सिरिजमा देखाइए जस्तै कथामा पनि दासहरुको संघर्ष लेखिन्छ । जसरी रोमनहरुसँग दासहरुले विद्रोह गरे त्यस्तै आफुलाई श्रेष्ठमार्गी ठान्ने, आर्यहरु, सामान्तहरुसँग पनि दासहरुले विद्रोह गर्नेछन् । उनीहरुको सामना गर्नेछन् । आफ्नो स्वतन्त्रताको लागि आवाज उठाउनेछन् । तर, मक्षभूमिमा मात्र दासहरुको दुख देखाइन्छ । उनिहरुको कथा, ब्यथा सुनाइन्छ ।
जसरी ब्रिटिसहरुको कब्जाबाट 'महात्मा गान्धी'को अगुवाइमा विद्रोह भएको थियो । आन्दोलन भएको थियो । मोक्षभूमिमा त्यो केही छैन । देखाइदैन । उनीहरु मात्र दुखी छन् । लाचार छन् ।
कुमाउँयुद्धपछि सम्राटले आफुले गरेको पापको प्रायश्चित्त गर्न देशभरमा भएका सबै दासहरुलाई मुक्त गरिदिन्छन् । त्यहाँबाट बल्ल मुक्त भएका दासहरुको संघर्ष देखाइन्छ ।
कथन शैली नयाँ पक्का होइन तर जो-कोहिलाई पनि सजिलै बाँधिदिन्छ । तानिरहन्छ । पढिरहदा पात्रहरु, घटनाहरु मस्तिष्कमा बन्दै, भत्किदै जान्छन् । पात्रहरु आफ्ना लाग्छन् । आत्मीय लाग्छन् ।
जसरी भारत स्वतन्त्र भएपछि त्यहाँका जनताहरु दुईभागमा विभाजित भए । पाकिस्तान र हिन्दुस्तान भयो । त्यसरी नै सिंजाबाट मुक्त भएका दासहरु दुई भागमा चिरिन्छन् ।
सम्राटले मात्र दासहरुलाई मुक्त गरिदिन्छन्, मार्ग देखाउदैनन् । ब्यबस्थापन गराउदैनन् । उनीहरुको पुनःस्थापना गराउँदैनन् । बिना दासहरु आफ्नो राज्यलाई कसरी संचालन गर्न सकिन्छ भन्ने कुनै पुर्व-योजना बनाउदैनन् । किन ?
एक समूह आफ्नो कर्मभूमि सिंजा छाड्न मान्दैन । अर्को समूह आफ्नो नयाँ सुरुवातका लागि नयाँ भूमि खोज्न हिड्छ । अन्त्यमा काशीनगरका राजाले भूमि खोज्दै हिँडेका मुक्त दासहरुलाई उपहारस्वरूप भूमि प्रदान गर्छ, जसलाई उनीहरुले 'मोक्षभूमि' नामकरण गर्छन् ।
आफ्नो नयाँ भूमिमा नयाँ किसिमको सभ्यता, संस्कृति, कला, पद्धति, न्यायविधान, सम्पदा सबैको सही रुपमा स्थापना गर्न उनीहरुका प्रिय पात्रहरु खोजको, ज्ञानको यात्रामा निस्किन्छन् । यात्राबाट फर्किएपछि मोक्षभूमिमा जननायक चुनिन्छ । उत्तराधिकार चुनिन्छ ।
मोक्षभूमिको नयाँ ब्यबस्थामा ( उत्तराधिकारी चयनको विषयमा ) असन्तुष्टताका केही आवाज उठ्छन् । किताबमा एक पात्रले भने जस्तै- जब राज्य बन्छ, शासक बन्छन् । दरबार बन्छ । प्रजाजन हुन्छन् । आफ्नै दण्डविधान हुनेछ । न्याय होला अन्याय पनि होला ।
मान्छे कहिल्यै स्वतन्त्र हुँदैन । ऊ सधैं नियतिको दास हुन्छ ।
अनि म आफ्नै शेर सम्झिन्छु—
"उड्न पाउँदैमा कहाँ स्वतन्त्र भइन्छ
एकदिन बादल पनि चुहेरै सकिन्छ !"
कथामा 'आर्यदेव'को निकृष्ट कथ्य छ-
ब्राह्मण ब्रह्माको मुखबाट जन्म लिन्छ । क्षत्री बाहुबाट, वैश्य तिघ्राबाट र शूद्र खुट्टाबाट ।
शुद्रको घरमा मान्छे मर्दा लासलाई उठाउने समेत कोहि मान्छे हुँदैन । अरु कोहि आउदैनन् । त्यसैगरी सिंजाको महामारीमा कयौंको ज्यान जान्छ । श्रेष्ठजन, महाजन, सामन्त कयौंको । अवस्था यस्तो बनिदिन्छ लास उठाउने मान्छेहरु समेत हुँदैनन् ।
समस्याले जात हेर्दैन । धर्म हेर्दैन ।
शक्ति हासिल गर्न सम्राटसँग आफ्नै रानीले गरेको घिनलाग्दो षडयन्त्र छ । स्वार्थ छ । प्रजा र राज्यको भलाइका लागि दुश्मन राज्यको राजासँग सम्बन्ध जोड्न राजकुमारीले गरेको त्याग पनि छ । यसरी मानव प्रकृतिलाई सुक्ष्म तरिकाले देखाएको छ पुस्तकले ।
पुस्तकले जीवन र जगतलाई नजिकबाट केलाएको छ । दास र सम्राटको कथा मज्जासँग समानान्तर रुपमा अगाडि बढाएको छ । पात्रहरुको विकास, कथाको विकास गज्जबको लाग्छ । लेखकले, दासहरुलाई मुक्त गर्न सम्राटले आयोजना गरेको कार्यक्रम मात्रै होइन, दासहरुको पैताला पुगेका प्रत्येक ठाउँहरुको क्यानभास भव्य रुपमा कोरेका छन् । ती मायावी लाग्छन् । अदभूत लाग्छन् ।
बीचबीचमा आउने किंवदन्तीहरु स्पाइसी लाग्छन् । गाउँका बुढा-बुढीहरुले सुनाउने कथाहरूझैँ प्रिय लाग्छन् । भाषा सरल र सुन्दर लाग्छ । पुस्तकले प्रेमको, त्यागको मीठो भाषा बुझाएको छ । मानव धर्मको फराकिलो परिभाषा दिएको छ ।
‘मोक्षभूमि’ले हाम्रो समाकालिन समाज, समय, समस्या, सभ्यतालाई प्रस्टैसँग देखाएको छ । यहाँको दशा, दुर्दशालाई चित्रण गरेको छ ।
ओभरअल चित्तबुझ्दो छ । राम्रो छ । मन पर्यो । तपाईं पनि पक्का पढ्नुस् ।
***
'किताब पब्लिसर्स'बाट प्रकाशन भएको यो किताबको मुल्य रु.६०० रहेको छ । यो किताब अर्डर गर्नको लागिः http://kitabkiro.com/books/
Comments