केटकेटी प्रश्न !!!
२०७७ मंसिर २ गते Pravinएउटा बहुत, पपुलर/ओभररेटेड स्टाटस छ । बचकानी प्रश्न छ । यसलाई तपाईंले फेसबुकका भित्ताहरूमा धेरैपटक पढिसक्नु भएको छ । र सायद त्यसका उत्तरहरू पनि कल्पना गरिसक्नु भएको छ । यो चाल्डिस छ । केटकेटीले देखेका सपना जस्तो— मासुम पल्स हाँसउठ्दो !
{ केटकेटी प्रश्न— }
तपाईंको अगाडि अहिले एउटा टाइम-मसिन खै कताबाट हो— टुप्लुक्क टप्केको छ । त्यो टाइम-मेसिनको हेब्बी आवाजले, तपाईलाई एउटा ह्याप्पी अवर प्रदान गर्छ । तपाईं, त्यो मेसिनको माध्यमले आफ्नो अतितमा फर्कन सक्नु हुन्छ । अब भन्नुस्— तपाईं कुन समयमा जान चाहनु हुन्छ ? तपाईं कसलाई भेट्न चाहनु हुन्छ ?
यो प्रश्न अहिले मलाई सोधिएको छ ।
र एउटा केटकेटी-पाठक-फ्यानको जवाफ, यस प्रकार छ:
"म शंकर लामिछानेलाई भेट्न चाहन्छु !"
( खासै गर्व गर्नु पर्ने कुरा त होइन । तर योभन्दा मेरो छाती फुलेको कुरा साचो हो । )
- "किन ?"
एउटा स्वाभाविक प्रश्न सोध्न पुग्छ— त्यो प्राचीन समय-यन्त्र !
"म उसलाई प्रश्न सोध्न चाहन्छु । प्रश्न के हो भनेर चाहिँ नसोध ल ? एउटा केटकेटी पाठकको, केटकेटी प्रश्न हो । सिम्पल प्रश्न हो । म यो प्रश्नलाई जुठो बनाउन चाहन्नँ । म यो प्रश्न उसैलाई सोध्न चाहन्छु, जसको लागि भनि यो प्रश्न मेरो मस्तिष्कभित्र जन्मिएको छ ।"
- "ठिक छ । जस्तो तेरो मर्जी । तथास्तु !"
..अन्धकार...
( यो कुनै नाटक हुन्थ्यो भने, यहाँ पर्दा खस्थ्यो । एउटा अध्याय यहाँ समाप्त हुन्थ्यो । )
***
{ अध्याय २: जसको अध्याय १ कतै गुमनाम भएको छ ! }
मेरो अगाडि एउटा आकृति छ । एउटा अधबैंसे लोग्नेमान्छे । जसको कद त्यस्तै साढे पाँच फिट जति होला । जसले निलो कोट/पाइन्ट लगाएको छ । टाउकोमा ह्याट छ: काउ ब्बोइ ह्याट ! जसको हातमा चुरोट सल्किरहेको छ । कुन चुरोट, मलाई थाहा छैन ।
मलाई केही पनि थाहा छैन । म किन उसलाई डिस्क्राइब गरिरहेको छु यहाँ । मलाई यत्ति थाहा छ— ऊ श्री शंकर लामिछाने हो । मेरो प्रिय लेखक ! मेरो परिकल्पनामा निर्मित राइटर— मेरो अघि चुरोट पिइरहेको छ ।
( मलाई यो थाहा छैन कि, लामिछानेले आफ्नो जीवनकालमा चुरोट पियो या पिएन । म लेखक लामिछानेलाई चिन्छु । व्यक्ति लामिछाने को हो ? )
म केही सोध्दिनँ । केही भन्दिनँ । म सिधै प्रश्न सोध्छु । म यसैको लागि यहाँ आएको हुँ । म उसको हालखबर सोध्न यहाँ आएको होइन ।
{ मेरो केटकेटी प्रश्न }
"श्री शंकर लामिछाने, तिमीले किन कहिले उपन्यास लेखेनौ ?"
( म उसलाई तपाईं भनेर बोलाउन पनि सक्थेँ । तर भित्रबाट निस्किएन त्यो कुरा । ह्या.. अहिले सम्बोधनमा नजाऊ ! )
ऊ मतर्फ फर्कियो । एउटा मेटाफोरिकल मुस्कान मुस्कुरायो ।
{ र उसका सम्भावित जवाफहरू यस्ता छन् : )
- "( श्री ) शंकर लामिछाने, निबन्ध र कथामा अड्किएको एक मेटाफोरिकल विरोधाभास हो । उसले उपन्यास किन लेखेन ? किनकि ऊ यिनै विरोधाभासमा अल्झिरह्यो । अड्किरह्यो ।"
- "( श्री ) शंकर लामिछानेले आफूले आफूलाई कहिल्यै लेखक ठानेन । उसको लागि लेखक देउता हो, देवकोटा हो । जति लेख्यो डराइ डराइ लेख्यो । र उसको डर बिम्बहरु बने । निबन्ध बने । कथा बने । उपन्यास बनेन् ।"
- "( श्री ) शंकर लामिछाने, याक्चुल्ली कथा पनि लेख्न चाहदैन थियो । ऊ सिर्फ निबन्धहरूमा मर्न चाहन्थ्यो । तर उसलाई यो कुरा बोध भयो कि, कथाहरू बिना जिन्दगी अधुरो छ । जिन्दगी कथा हो । र उसले कथा लेख्न थाल्यो । लेख्यो । उपन्यास लेख्ने जाँगर चलाएन ।"
- "( श्री ) शंकर लामिछाने एउटा मेटाफर थियो । प्रयोगवादी (अ) लेखक थियो । उसले निबन्धमा मेटाफर घुसाउनु घुसायो । कथाहरूलाई प्रयोगशाला बनायो । र उपन्यास लेख्नु पुर्व नै ऊ मर्यो । आफ्नो देहलाई त्याग गर्यो । र त्यसपछि उसले यो चाल पायो कि मरेको मान्छेले उपन्यास लेख्न कदापि सक्दैन । यसकारण उसले उपन्यास लेख्न सकेन !"
- "( श्री ) शंकर लामिछानेले एकपटक उपन्यास लेख्ने जमर्को कस्यो । एउटा नामबिहीन उपन्यास लेख्यो । तर त्यो उपन्यास ऊ आफैलाई मन परेन । त्यसलाई च्यातेर उसले डस्टबिनमा मिल्काइदियो । र त्यो भर्जिन पाण्डुलिपि डस्टबिन हुदै डम्पयार्डमा पुग्यो । यसरी छापिन नपाउदै ( श्री ) लामिछानेले लेखेको उपन्यास कचरा बन्यो ।"
- "ई.टी.सी."
***
एउटा केटकेटी सपना यहीँ समाप्त हुन्छ । तर यहाँ पर्दा खस्दैन । पर्दा माथि/माथि आकाशतिर उड्छ !
ॐ !
यो लेख पढिसकेको पछि तपाईंलाई लाग्ला: 'ओहो ! यो यो त नगरकोटियन शैली हो । यसले त नगरकोटीले जस्तै लेख्यो ।'
तर तपाईं (श्री) महासय गलत हुनुहुन्छ । यो शुद्ध लामिछानियन ( लामिछानेको ) शैली हो । बुझ्नुस्: तपाईंले श्री शंकर लामिछानेलाई कम पढ्नु/बुझ्नु भएको छ ।
हरि ॐ !

यो किताब अर्डर गर्नको लागिः http://www.kitabkiro.com/books/
Comments