पल्पसा क्याफको बाहिरी आवरण
२०७४ मंसिर ९ गते मोहन राज बराल 'मुन'
यस बेला पत्रकार नारायण वाग्ले पल्पसा क्याफे उपन्यासबाट नेपाली साहित्यमा चर्चाको शिखरमा रहेका छन । साथै उनको यस कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ । म चर्चा गर्दैछु त्यस उपन्यासको भित्री कथाहरू होइन, सिर्फ बाहिरी आवरण । प्रकाशक नेपा-लय रहेको यस् कृतिको बाहिरी आवरण साधारण छ। आवरण प्रसिद्ध कलाकारहरुको कलाकृति नभई चन्द्र शेखर कार्कीले खिचेको कथासँग सुहाउदो तस्विर छ । तर भावहरू गहन छन। वास्तवमा पहाडहरू उजाड छन । एउटा पहाडको टाकुराबाट अरु पहाडतर्फ फर्केर कोही चिहाइरहेको छ, सुस्केराहरू बोकेर। पहाड कालो छ। पहाड हरियो छ, विना हरियाली । शायद पहाड रातो छ, तर हाम्रो हेराइमा काल्पनिक हरियो देखिन्छ । यस्तो लाग्छ, चित्रमा देखिएको सेतो-निला बादलहरू कुनै कलाकारहरुले शान्तिको आशमा सेता-निला बनाइदिएको तर वास्तवमा काला-काला डम्म बादलहरु, यस्तो लाग्छ ती पहाडहरुमा समयको क्रुर छायाहरू टल्किरहेको छ । मेरो विचारमा कालो डाडामा उभिन विवश व्यक्ति अमृत गुरुङ हुन । जहाँ उनी पत्रकार वाग्लेले फैलाइदिएको बाटोबाट "भेडाको उन जस्तो" गीतहरू खोज्दै डाडामा पुगेका छन ।
यस् कृतिको आवरणमा व्यक्ति एक छन र अनेक भेसहरुमा, जहाँ धेरै अमृत गुरुङहरू उभिरहेका छन। तिनीहरू जेलिएका छन। बाटोको खोजीमा उभिरहेका छन। तर समस्याहरू त सबैको एउटै....। यस्तो लाग्छ वा ममा के आभास भयो भने, जब मैले त्यस चित्रलाई हेरिरहे-हेरिरहे, ओहो! त्यहाँ oh my god पुष्कर शाह, ओहो ! पुष्कर शाह । ममा खुशीको सीमा रहेन, वाह । उनीसँगै उनको साइकल, नेपालको राष्ट्रिय झन्डा... मलाई यस्तो लागिरहेछ। मैले उनलाई प्रत्यक्ष भेटिरहेको छु । तर हाम्रो देशको यात्री वर्तमान स्थिति जहाँ दिनदिनै अशुभ समाचार, मृत्युका खबरहरु, चित्कार, भय, त्रास, अन्यौल तथा असुरक्षा.....?
जहाँ गाउ वस्तीहरू डढेलोमा परेका छन। जहाँ समय झेली बाँच्न वाध्य छ। जहाँ हरेक नेपालीहरुलाई खाँदै नखाएको विखले ज्युदै मारिरहेको छ। जहाँ हामीले चोट सहनु परेको छ । आखिर उनी पनि नेपालकै नागरिक, मलाई त चित्रमा हेरिरहदा यस्तो लाग्छ, त्यस कालो पहाडमा साइकल रोकेर पीडाका तीता हुस्सु र कुहिरोले लुगलुग कामिरहेका छन। म त्यस आवरण निरन्तर हेरिरहन्छु, उनले केही भन्न खोजिरहेको आभास पाउछु । तर हामीहरू सात डाडाको फेरीमा, सात समुद्र पार, तर उनको आवाज सुनिएन। तर उनी प्रविधिको दुनियाँमा अङ्रेजिमा ईमेल गर्दै भन्दछन "here, I was carrying picture of buddha's eye from the land of Mt. Everest, trying to promote peace in the world. my country's flag whipped in the wind as i pedalled it has been my constant friend but i felt so insecure.
i pedalled harder thinking "बन्दुक को छेउमा मान्छेले त्रास हैन सुरक्षा को आभास पाउनु पर्छ" The gun must protect the people not terrorise them . How can we bring peace to nepal ?
तर अचम्म त्यस डाडामा पुष्कर हराइसके। म दुखित हुन्छु। तर म निरन्तर हेरिरहन्छु, तर त्यहाँ गायक अमृत गुरुङ उभिएका छन । हो, गायकको काम मनोरन्जन मात्र दिनु होइन, समयलाई स्वतन्त्र राख्न अभिप्रेरित गराउनु हो। कुनै पनि समय वा समयको शब्दलाई आशंका सन्देह र भयबाट सुरक्षित राख्नु वा सुरक्षित राख्ने माग राखिएको गीतहरू गाउनु एउटा गायकको इमान हो । तर त्यस डाडामा उनीसँग गीतार छैन, ड्रम छैन, मादल छैन। तर आफ्नो इमानहरू पुरा गर्दै छन। "शान्तिका लागि शिक्षा बोकेर" हरेक समय समयमा इमान राख्न गायक धर्तीमा झुल्कन्छ्न। जसरी हिजो रामेश र रायनहरू झुल्के तर मलाई यस्तो लाग्छ उनले त्यो डाडाबाट आव्हान गरेका छन कि भविष्यमा कोही गायकहरुले जनाताका गीतहरू गाउँनु नपरोस, शान्तिका गीतहरू गाउँनु नपरोस। कुनै पनि गायक समयलाई अघोषित युद्ध, भोक र अज्ञात वासमा राख्न चाहदैनन। तर यस्तो लाग्छ, उनी जनताहरू प्रति उत्तरदायित्व बोकेर कष्टसँग कालो पहाडका क्रुर छायासँगै उभीइरहेका छन। वास्तवमा कलाकारहरुलाई देश, पारीवेश र बातावरणले प्रभाव पारेको हुन्छ। तर मेरो हेराई निरन्तर काला पहाड तर्फ आखिर डाडामा संगीत को गुन्जायमान .... तर गीतका शब्दहरू
" सीमानामा टक्क अडेर, छाती भरि देशबोकेर रोए है
पैताला देखि हत्केलासम्म, वेदना को छाल फुटुन्जेलसम्म
फेरि छाती उर्लिए व्यथा, चुपचाप जंघार तर्ने बेला
भक्कानो छाडी रुदै, मुग्लान पसे हाम्रै दाजुभाइ, पूर्वै जाने रेलै चढेर"
- भेडा को ऊन जस्तो
उर्फ ! फेरि अमृत गुरुङहरू कालो पहाडबाट फरार, खोई मैले देखिन ! तर म निरन्तर हेरिरहन्छु, आहा ! त्यहाँ नारायण वाग्लेहरू ... यस्को मतलब, पत्रकारहरु, लेखकहरु...! हो, आवरण को चित्र पक्का नारायण वाग्लेहरू को हो ! मलाई त कालो पहाड हेरिरहादा के आभास हुन्छ भने गल्ती गर्ने समय, झुटो संकेत गर्ने समय र बन्धकभित्र परेको हाम्रो देशको समयलाई हेरेर उनीहरू आफ्नो उपस्थितिको साक्षि बन्न नसकेर एक्लै डाडामा उभिरहेका छन्
तर उनीहरूले के याद गर्नुपर्छ भने मिथ्यावादीहरूले सत्यको बदला अरु कुरा गरे पनि देशलाई दुख दिएर कसैले बलवान घोषित गरेपनि गल्तीगर्नेहरूले क्षणिक जितिरहे पनि समयले देशमा खल नायकहरू प्रसारित गरिरहे पनि उनीहरू समयको संरक्षक हुनुपर्दछ ! सायद उनीहरू आवरणमा कालापहाडमा भएका काडाहरुका झाडीहरू भित्र लछारिदै पछारिदै छन् वर्तमान सग सामना गर्न ......!
आवरण हेरिरहेछु, तर त्यहाँ नारायण वाग्लेहरू पनि हराइसके, जसरी अरु पात्रहरू हराइरहेका थिए ! तर मेरो यस पटक को हेराईमा त्यहाँ आमाहरू छन् ! आमाहरू देश खोजिरहेका छन् तर देश लुम्बिनीलाई खोजिरहेको छ ! मैले सुरुबाटै निरन्तर रुपमा आवरणमा हेरिरहे आवरणमा एउटा व्यक्ति को चित्र छ तर मलाई यस्तो लाग्छ कि ती हरेक व्यक्तिहरू शान्ति खोजिरहेका छन् यस बखत शान्तिमाथि आस्था को कमि भयो भने देशले कसैलाई माफी दिने छैन
( वर्ष ४ अंक ७, २०६२ कार्तिक सिउडीमा प्रकाशित )
साभार : http://www.majheri.com/node/19494
Comments