फलामे ढोका भनिने एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएपछि पास भएका ४७ प्रतिशत परीक्षार्थी उच्च शिक्षा अध्ययनको तयारीमा छन् भने फेल भएका ५३ प्रतिशत परीक्षार्थी निराश भएर अर्को परीक्षाको पर्खाइमा।

हरेक वर्ष जेठ अन्तिम वा असार पहिलो हप्तातिर हुने एसएलसी रिजल्टले नेपालको शिक्षा क्षेत्रमा एउटा बहस पनि लिएर आउँछ। एसएलसीको परीक्षा प्रणाली वैज्ञानिक नभएकाले यसले विद्यार्थीको समग्र क्षमता मापन गर्न सक्दैन त्यसैले सुधार गर्नुपर्ने आवाज उठ्छ। केही महिनापछि नै फेरि यो बहस सेलाउँछ।
यसै सन्दर्भमा आख्यानकार अमर न्यौपानेले शैक्षिक विषयमा लेखेको उपन्यास 'करोडौं कस्तूरी' सार्वजनिक भएको छ। शिक्षाका विषयमा नेपाली समाजमा रहेको अब्यबहारिक बुझाइबारे वर्णन गरिएको यस उपन्यास पनि नेपाली समाजमा हरेक वर्ष चलिरहने त्यही बहसको सेरोफेरोमा छ। कितावी ज्ञानलाई नै महत्व दिने र बालबालिकालाई उनीहरुको रुची र खुबी अनुसार भन्दा पनि प्रतिष्ठित मानिएको वा धेरै कमाइ हुने पेशामा लगाउन चाहने प्रवृत्ति र त्यसले उनीहरुमा पार्ने असरमा उपन्यास केन्द्रित छ।
उपन्यासको मुख्य पात्रको नाम हरिवंश आचार्य छ। जो सानोमा असाध्यै छट्टु हुन्छ, किताब पढ्नुभन्दा जनावर, चराचुरुङ्गीको आवाज निकाल्न, नाटक खेल्न, अरुको क्यारिकेचर गर्न र फिल्म हेर्न रुचाउँछ। तर घर र विद्यालयमा उसलाई बिग्रेको ठान्छन्। उसले आफ्नो रुची अनुसारका काम गर्दा बुबा र हेडसरबाट धेरै कुटाइ खानुपर्छ। मन नलाग्दा नलाग्दै किताब पढ्नुपर्दा उ धेरै दिक्क मान्छ।बुबाको डाक्टर बनाउने सपना छ। तर उसको पढाइमा फिटिक्कै ध्यान छैन। आखिर उसले बुबाको इच्छा अनुसार डाक्टर बन्न विज्ञान विषयमा भर्ना गर्छ। पछि फेरि विज्ञान पढ्न गाह्रो लाएर बुबाले थाहा नपाउने गरी मानविकीमा भर्ना गर्छ। जीविकोपार्जन र प्रतिष्ठाका लागि उ शिक्षकको जागिर पनि खान्छ।
तर आफु विषयवस्तुमा निकै कमजोर रहेकोमा ग्लानी अनुभव गर्छ। आफ्नो रुची अनुसार विद्यार्थीलाई बिभिन्न ब्यक्तिको क्यारिकेचर गरेर पढाउँछ, विद्यार्थीलाई उनीहरुको रुची अनुसारका काम गर्न छुट दिन्छ। उसका गतिविधि स्कुलमा मन पराइँदैन। तै पनि जागिर खानु उसको बाध्यता हुन्छ।
अन्तिममा उ जागिरबाट निकालिन्छ। मानसिक रुपमा विचलित हुन्छ। गाउँमा सबैले बहुलाएको भन्छन्। जागिर पनि पाउँदैन यद्यपि उसले पटकपटक परीक्षा दिएर भएपनि एमए पास गर्छ। र पिएचडी पनि सिध्याउँछ। तर आफ्नो जीवनदेखि सन्तुष्ट हुँदैन। सुर हराएको मान्छेजस्तो हुन्छ।
उपन्यासका पात्र हरिवंशले ५६ वर्षको उमेरमा टेलिभिजनमा कलाकार हरिवंश आचार्यको अन्तर्वार्ता देख्छ। तीन पटक एसएलसी फेल भए पनि उनले आफुमा रहेको कलाकार बन्ने क्षमता बेलैमा चिन्न सकेकाले कलाकारिता क्षेत्रमा सफल भएको बताउँछन्। त्यसपछि बल्ल उसको आँखा खुलेको र बेलैमा कलाकारितामा नलाग्दा जीवनभर पाएको दुख सम्झेर झन् दुखित हुन्छ। उ आत्महत्या गर्ने मनस्थितिमा पुग्छ।
लेखकले एउटा बालक हुर्केर ठूलो हुँदासम्म घर र विद्यालयमा भोग्ने घटनाक्रमहरु बर्णन गरेका छन्। घरमा बाबुआमाले किताबको पढाइ बाहेक अरु मनोरन्जनात्मक गतिविधिमा लागेमा बिग्रेको ठान्छन्। स्कुलमा होमवर्क नबुझाए कुखुरा बन्नुपर्छ, पाठ नजाने शिक्षकले कडा यातना दिन्छन्।
पात्र हरिवंशले बुबाको डाक्टर बनाउने इच्छाको अगाडि आफ्नो नाटक खेल्ने र पशुपंक्षी र जनावरको आवाज निकाल्ने रुची सँधैका लागि त्यागिदिन्छ। आफ्नो रुची र खुबीलाई छाडेर अरु नै विषय पढ्नुलाई लेखकले कस्तूरीले आफुमा भएको सुगन्ध थाहा नपाएर खोज्दै हिँड्नु हो भनेर चित्रण गरेका छन्।
उपन्यासकारले सामन्य मान्छेलाई पात्र बनाउँदा भन्दा कलाकारलाई पात्र बनाउँदा बढी प्रभावकारी हुने सूत्र अपनाएका छन्। नभए यति बलियो विषयवस्तुमा उनले कलाकार हरिवंशलाई नै पात्रको रुपमा रोज्ने थिएनन्। उपन्यासका पात्र हरिबंशले ५६ वर्षसम्म थाहा पाउन नसकेको कुरा कलाकार हरिवंशको एउटा अन्तर्वार्ता हेरेपछि छर्लङ्ग भएको उपन्यासको कथानक छ। जुन त्यति पत्यारिलो लाग्न सक्दैन।
छोटा वाक्यहरु, साना विषयमा पनि लामो कथानक बुन्न सक्ने र रमाइला शव्दहरुको प्रयोगका कारण उपन्यास पढ्दा रमाइलो छ। उपन्यास पढ्दै जाँदा धेरैलाई आफ्नो बाल्यकालको सम्झना हुन्छ भने स्कुले जीवनको पनि याद आउनेछ। राम्ररी पढ्न नसक्नेहरु गाउँमा हेपिने, कमाइ नहुँदा घरपरिवार र आफन्तबाटै अपहेलित हुनुपर्ने नेपाली समाजको अवस्था पनि उपन्यासकारले चित्रण गरेका छन्।
उपन्यासमा केही अस्वाभाविक लाग्ने घटनाक्रम पनि छ। जस्तै घरदेखि टाढा आश्रममा पढ्न गएको एउटा बालक राती रक्सी खाएर बेहोसीमा गाडीबाट ओर्लदा आफ्नै घरमा आइपुगेको वर्णन गरिएको छ। युवा उमेरका चकचक वर्णन गर्ने क्रममा लेखक धेरै बहकिएका छन्। धेरै चकचके र फन्टुसपन देखाउन उनले अश्लील लाग्ने खालको र हल्काफुल्का उदाहरण राखेका छन्। गहकिलो उपन्यासको रुपमा यसमाथि प्रश्न उठाउनेहरुलाई लेखकले बाटो खुला गरिदिएका छन्।
हरिवंश आचार्यको चिना हराएको मान्छे सम्पादन गरेका न्यौपाने त्यसबाट प्रभावित देखिन्छन्। उनले केही कुराहरु हरिवंशको वास्तविक जीवनसँग मिल्ने पनि लिएका छन्। तीन पटक एसएलसी फेल भएका, जनावरको आवाज निकाल्न सक्ने खुबी नाटक खेल्ने रुची पहिलोपटक एकलब्य नाटकमा कुकुर कराएको आवाज निकालेको आदि हरिवंशको वास्तविक जीवनसँगै मेल खान्छ।
लेखकको यसअघिको उपन्यास 'सेतो धरती'ले मदन पुरस्कार पनि पाउन सफल भयो। बाल विधवाको कथामा आधारित त्यस उपन्यास धेरै रुचाइयो। उनको हालै सार्वजनिक 'करोडौं कस्तूरी' उपन्यास त्यस्तै सामाजिक विषय नभएपनि समाजमा बहस हुनुपर्ने खालको शैक्षिक विषयमा आधारित छ। यसअघि प्राज्ञिक र शैक्षिक क्षेत्रमा मात्र उठ्ने यो विषय उपन्यासको माध्यमबाट सर्वसाधारणसमक्ष पनि पुग्न सक्नेछ। शैक्षिक विषयमा रुची राख्ने मानिसहरु, शिक्षक अभिभावकहरुका लागि पनि उपन्यास पढ्नैपर्ने छ।
पुस्तकको नाम : करोडौं कस्तूरी
लेखक: अमर न्यौपाने
प्रकाशक : फाइन प्रिन्ट
मूल्य: रु ४५०
Comments