अतीतकाे यात्राः बुद्धिसागरकाे फिरफिरे
२०७४ कार्त्तिक २५ गते रमण पनेरु
२०६५ तिर बजारमा एउटा नौलो पुस्तक आयो । त्यसको चर्चा सर्वत्र फैलियो । त्यसबेला म एक नीजि स्कुलमा पढाउँथे । देशमा नाम चलेका पुस्तकहरु हामीकहाँ सजिलै उपलब्द्ध नहुने हुँदा समूह बनाएर किताबहरु किन्ने र त्यसै समूहभित्र एक अर्कालाई दिने भन्ने एउटा अमूर्त योजना थियो । त्यसअघि म कैलाली जनपुस्तकालयमा गएर घण्टौँ पुस्तकहरुमा घोत्लिन्थेँ । पुस्तकालयमा पुुराना पुस्तकहरु थुप्रै भएपनि समकालीन साहित्यका पुस्तकहरु त्यति साह्रो उपलब्द्ध हुँदैन थिए । पुस्तकालयको सदस्य कसैले कुनै पुस्तक दान गरेछ भने बेग्लै कुरा नत्र नयाँ पुस्तक किनेर पढ्नुको विकल्प हुँदैन थियो । पुस्तक किन्नलाई पैसाको अभाव सँधै रहन्थ्यो । त्यसैले पुस्तक बाँडेर पढ्ने योजना अनुरुप पुस्कत किन्ने क्रममा स्कुलमा सामाजिक शिक्षा पढाउने कुँवर सरले पढ्न मन लागेको पुस्तकको नाम सुझाउँदा कर्णाली ब्लुज भनेर भनेँ । पछि मैले सो पुस्तक किनेर पहिले कुँवर सरलाई नै दिएँ । विसाउनै गाह्रो मानेर पढ्नु भयो । ‘पिता पुत्रको सम्बन्धको गज्जब कथा छ’ भन्नु भयो ।
घरमा पनि त्यो किताब खुबै चर्चित भयो । मलाई पनि किताब खुब मन प¥यो । सुदूरपश्चिमको भूगोल समेटिएको भएरै पनि त्यो पुस्तक मन परेको थियो । ‘कटासे बजार’ एकाएक पर्यटकीय गन्तब्य जस्तै भएको त्यसपछि नै त हो । दिदीका केहि साथीहरु त काठमाडौँ देखि कटासे बजार घुम्नैका लागी पनि आएका थिए । त्यतिबेलै मैले पनि पछि केहि लेखेँ भने आफ्नै स्थानीय परिवेशको कथालाई रोज्ने छु भन्ने मनमनै प्रण गरेको थिएँ । नदेखिएको भूगोल लेखिँदा त्यसले आफ्नो अस्तित्व सबैलाई अवगत गराउँछ भन्ने मेरो बुझाइ थियो ।
‘कर्णाली ब्लुज’ पछि बुद्धिसागरले धेरै कुराए । पहिलो पुस्तकले धेरै चर्चा बटुल्दा उनीप्रतिको अपेक्षा पनि चुलियो । यो अपेक्षा भन्नेकुरा एकदमै खतरनाक हुन्छ । पहिलो पुस्तकमा वुद्धिसागरसँगको अपेक्षा केहि थिएन । तर त्यसमा उनले अपेक्षा भन्दा बढि दिएर गए । दोश्रो पुस्तक सम्म पुग्दा उनीबाट धेरै अपेक्षा थपियो । त्यसैले पनि फिरफिरे बहुप्रतिक्षित र अलि बढि नै अपेक्षा गरिएको पुस्तक बन्यो ।
‘फिरफिरे’ हात पर्दा पहिले पढ्न डराएको थिएँ । मोटा पुस्तकले सँधै मेरो सातो खान्छन् । मैले पढेका नेपाली साहित्यको पुस्त्कहरुमा ५३१ पानाको पुस्तक यो नै पहिलो थियो । धेरै पुस्तक पढ्ने रहर अँगालेकाले सुरु गर्नै अप्ठेरो लागेको थियो । नियतिले उछिट्टयाएर सात समुद्र पारि पु¥याएकाले हात पार्नै पनि २ वर्ष लाग्यो । हात परिसकेपछि थाल्न गाह्रो भयो ।
पहिलो पाना सुरु गर्दा नै पुस्तकले सोझै धनगढी पु¥यो जहाँ मैले मेरो वाल्यकाल विताएको थिएँ । त्यसपछिका हरेक पानाले स्मृतीमा पु¥यायो । हरेक घटना र पात्रहरुले कुनै चिर परिचित पात्रको अनुहार सामुन्ने ल्याउँथ्यो । म मेरो परिवेशको कथा र वासवारीको कथा दाँज्थे । सायद आफू जन्मेको गाउँठाउँबाट उखेलीएकाहरुको नियती नै जिन्दगीभर ‘हृदयको झोलामा अटेसमटेस गउँका स्मृतिहरु कोचेर’ हिड्नु भनेर लेखिएको हुन्छ । अवसरको खोजी र सुख प्राप्तीको ध्याउन्नमा आफ्ना थलोबाट उछिट्टिएर फिरफिरे नभएका सायद थोरै मात्र भाग्यमानीहरु होलान् । विडम्बनाको कुरा म ती भाग्यमानी मध्ये पर्दैन । गाउँ मात्रै होइन देशै छोडेको पनि ५ वर्ष कट्यो । यस बीचमा एक पटक नेपाल पुगेको छु । अब फेरी कहिले फर्कन्छु यस्सै भन्न सक्दैन । त्यसैले फिरफिरेको यात्रा मेरोलागी अलि पिडादायी नै रह्यो । त्यो भन्छन् नि खुशीको आँशु खसाल्ने खालको पठन भयो । फिरफिरेले आफूले लेख्दै गरेको कथा संग्रहमा पनि केहि स्मृतिका पाना खोतलेर याद थप्न समेत कर ग¥यो ।
फिरफिरे पढ्दै गर्दा नयनराज पाण्डेयको ‘लू’ पनि बारम्बार सम्झना आइ रह्यो । ‘लू’ पनि नेपालगञ्जकै कथा थियो । त्यसमा भएको पात्रहरुको उपनामको कथाहरु जस्तै फिरफिरेमा पनि थुप्रै उपनामका कथाहरु जोडिएका थिए । पिच्कुमाझ, चिलगारी, कोहिनुर झाँक्रि, जुठी आमै, असारे बा, आदि नामहरु पढ्दा लूका टूटे पण्डित र रेडियोलालहरुको याद आयो । सिमान्त समुदाय र पात्रहरुको कथा मुलधारको साहित्यको विषय बन्नुले एक किसिमको उत्साह पनि थप्यो ।
‘फिरफिरे’ले व्यक्तिगत र सामाजिक पक्षहरुलाई त समेटेको छ तर राजनीतिक घटनाक्रमबाट भने टाढा रहेको छ । बेलाबेला राजा र राजतन्त्रको कुरा छिटपुट रुपमा आए पनि त्यसको प्रचुरता भने भेटिँदैन । मुलतः ४० को दशक देखि ५०को दशकको पूर्वार्ध तिरको घटनाक्रमहरु उपन्यासमा समेटिएको छ । सायद यो पुस्तक पछिल्ला पुस्ताहरुका लागी पनि ग्रामीण परिवेषको वाल्यावस्ता बुझ्नको लागी सहायक सिद्ध हुनेछ । ‘उपमा’हरुको पनि बेजोड प्रयोग गरिएको छ ।
वुद्धिसागरसँग पुस्तक पढ्दा मोटाइको गुनासो बाहेक त्यस्तो खास गुनासो छैन । जुठी आमैलाई न्याय भएको भए र गाउँले सबैले कोहीनुरको चरित्र थाहा पाएको भए अलि राम्रो हुन्थ्यो कि भन्ने लागेको थियो । असारे बा को अन्तिम सम्म प्रतिक्षा गर्दा पनि फर्केनन् । असारे बा कै प्रसंगले मैले मेरी प्रेमिकालाई झगडा भएकै बेला पनि उप्रतिको प्रेम प्रकट गरेको छु । तर ती बुढा अन्तिम सम्म पनि जुठी खोज्न आएनन् । अन्तिम सम्म जुठी आमी कतै ठोकिन्छिन् कि भन्ने आशा पनि त्यसै रह्यो । पिच्कु माझी पनि उसले मागेको नायिकाको तस्वीर हेर्न नसक्ने भएको पढ्दा अलि चाँडै जानु पर्ने भन्ने लाग्यो । हिसाबमा अलि नमिलेको हो कि जस्तो भान भएको थियो । यी गुनासा सबै पात्रहरुको जीवन्त चित्रणको परिणाम हो । कथाको संसारका पात्रहरु जीवन्त भएर आइदिँदा वैकल्पिक अन्त्यको अपेक्षा हुँदो रहेछ ।
त्यसबाहेक पृ. ५०७ मा पवनको उमेर १६ पुगेको छ जबकि पृ ३९ मा उसको उमेर ११ वर्षको उल्लेख छ । ती दुई पानाको समय काल २०४५ साल र २०५३ सालका बीच भने ८ वर्षको फरक छ । हालको महंगाइले पुराना मोलहरुको अनुमानमा पनि असर पारेको हो कि झैँ पनि लाग्यो । नत्र ‘पोष्टकार्ड’ साँटासाँट त मेरो पुस्ताले पनि ग¥यो । हाम्रा पालामा १ रुपैयाँमा पोष्टकार्ड पाइन्थे । पात्रहरु किशोरावस्तामा प्रवेश गरेपनि वालसुलभ व्यवहार रोकिएको झैँ भान भएन । पवनमा केहि परिवर्तन आएको थियो तर त्यो सहरको हावा लागेको भन्ने तर्क थियो । सानामा रुखमा सँगै बसेर गरे पनि पछि किशोरावस्तामा केहि लाज थपिएको हुनु पथ्र्यो । हामी त सात आठ कक्षामै पुग्ता तुरी छोपेर तुक्र्याउँथ्यौँ । अब सँगै बिस्ट्याउने त कल्पना भन्दा बाहिरको कुरा भयो । मुनमुन चिया खान आएको प्रसंग अलि अमिल्दो लाग्यो । ५० को दशकको पूर्वाद्धका किशोरकिशोरीहरु सायद अलि बढि नै लजालु थिए कि ! शैली ठाउँठाउँमा वालकथाको जस्तै भान हुन्थ्यो ।
यी सबै गुनासाहरुका बाबजुद मनलाई सम्झाउने एउटा तर्क भने साथमा थियोः सबै जीवन समान हुने भए फरक फरक कथा नै लेखिने थिएनन् । जे होस् आगामी दिनमा पनि यसरी नै राम्रा राम्रा उपन्यासहरु पढ्न पाइयोस् ।
copied from: https://ramanpaneru.blogspot.de/2017/11/blog-post.html
Comments