भाषाभन्दा माथि कोही हुँदैन : शरच्चन्द्र वस्ती
२०७४ कार्त्तिक ५ गते – पारस नेपाल, काठमाडौं
– पारस नेपाल, काठमाडौं
जीवन्त भाषाका रूपमा आफ्नै विशिष्ट सौन्दर्य र विशेषता बोकेको नेपाली भाषा केही वर्षयता चौतारीमा अलपत्र छोडिएको मादल जस्तो भएको छ, जसलाई जति बेला मन लाग्यो प्याट्ट पारिहाल्ने । यस्तो अभ्यासले नेपाली भाषाको हित गर्दैन भन्ने यथार्थप्रति प्राय:ले हेक्का राखेको पाइँदैन । यो देखेर पीडा महसुस गर्ने भाषा अभियन्ता शरच्चन्द्र वस्ती नेपाली भाषालाई पूर्ववत् गरिमा दिलाउने मिसनमा निकै वर्षदेखि लागिपरेका छन् । एक दशकअघि ‘हाम्रो भाषा’ मार्फत यसबारे खबरदारी गरेका उनी हालै त्यस्तै अर्को पुस्तक ‘नेपाली कसरी लेख्ने ?’ सहित आएका छन् । प्रस्तुत छ, यही पुस्तकको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :
भाषा प्रयोगका तौरतरिका सिकाउने नयाँ पुस्तक निकाल्नुभएछ । ‘हाम्रो भाषा’ नै पर्याप्त थिएन र ?
हिज्जेको बहानामा नेपाली भाषालाई निरन्तर अन्योलग्रस्त बनाइराख्ने र विवाद चर्काइराख्ने काम राज्य संरक्षित निकायहरूले वर्षौंदेखि गरिरहेका थिए, जसले हाम्रो भाषालाई संकीर्ण र कमजोर बनाउँदै लगेको थियो । त्यसबाट चिन्तित नेपाली भाषाका महागुरुहरू र वरिष्ठ लेखक, पत्रकार, साहित्यकार आदिको अग्रसरतामा ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (नेकशुले–२०६९) पुस्तिका बनाइएको तपाईंलाई थाहै छ । त्यसले मूलत: हिज्जेको अराजकता समाप्त गरी नेपाली भाषालाई उसको स्वाभाविक गतिमा समयानुकूल तवरले अघि बढ्ने राजमार्ग निर्माण गरेको थियो ।
त्यसकै अनुक्रममा आम भाषा प्रयोगकर्ताका लागि शुद्ध, सही र प्रभावशाली नेपाली लेख्न बाटो देखाउने एउटा सशक्त र छरितो पुस्तकको आवश्यकता महसूस गरी मलाई यो पुस्तक लेख्न आग्रह गरियो । प्रतिष्ठित भाषासेवी, लेखक, पत्रकारहरूको बैठकले यसले समेट्नुपर्ने विषय, पक्ष र अँगाल्नुपर्ने शैली मात्र होइन, यसको नामसमेत तय गरयो । सोही अनुरूप मैले यो पुस्तक तयार गरेको हुँ ।
तपाईंले भने जस्तै मलाई पनि ‘हाम्रो भाषा’ नै पर्याप्त छ, अर्को पुस्तक जरुरी छैन भन्ने लागेको थियो । तर त्यो पूर्णत: शब्दप्रयोगमा केन्द्रित पुस्तक थियो, यो चाहिँ मूलत: हिज्जेमा केन्द्रित छ । लेख्न सिक्ने–सिकाउने भएकाले कतिपय सन्दर्भ मिल्दा पनि देखिन सक्छन्, जसबारे मैले भूमिकामै स्पष्ट पारेको छु । तर नेपाली लेख्नेहरूका सामु हिज्जेको ठूलो अन्योल छ, यसलाई सम्बोधन गरिनु जरुरी छ भन्ने कुरा आएपछि म यो पुस्तक लेख्ने निर्णयमा पुगेको हुँ । यसरी ‘हाम्रो भाषा’ र यो पुस्तक एकअर्काका परिपूरक बनेका छन् । एउटा पुस्तक पढ्नेले अर्को पुस्तक पढ्दा थप सन्तुष्टिको अनुभव गर्नेछ ।
यो पुस्तक डेढ वर्षअघि नै तयार भइसकेको हो । विभिन्न प्राविधिक कारणले प्रकाशनमा विलम्ब भएकाले बल्ल बजारमा आइपुगेको छ ।
तर, यसैबीच नेपाली भाषामा ठूलो उथलपुथल भएको छ । अहिले यसको सान्दर्भिकता के त ?
२०६९ सालको उक्त अभियानले आम नेपाली भाषाभाषीमा आफ्नो भाषाप्रतिको चेतना र संवेदनशीलता ह्वात्तै बढाइदिएको थियो । यसैबीच, गत वर्ष संयुक्त अक्षरका खुट्टा काटेर लेख्नुपर्ने आदेशविरुद्ध उनीहरू आन्दोलित भए । फलस्वरूप भाषामाथि अनधिकृत हस्तक्षेप गरी उल्टो बाटो हिँडाउन लागिपरेका निकायहरू रक्षात्मक अवस्थामा धकेलिए र आफूले गरेको गल्ती स्विकार्दै नेकशुले–२०६९ ले देखाएको दिशातिर अभिमुख हुन बाध्य भए । यसै क्रममा प्रज्ञा प्रतिष्ठानले संयुक्त अक्षरका खुट्टा नकाट्ने, जथाभावी पदवियोग नगर्ने र शब्दकोशबाट विस्थापित गरिएका शुद्ध हिज्जेका शब्दहरूलाई पुन: शब्दकोशमा समावेश गर्ने अर्थात् २०४० सालको नेपाली बृहत् शब्दकोशमा फर्कने निर्णय गर्यो । तर, निर्णय भएको एक वर्ष हुन लाग्दा पनि यसतर्फ कुनै काम भएको छैन । परिमार्जित मान्यता र नियमहरू व्यवस्थित रूपमा आएका छैनन्, आधिकारिक शब्दकोश प्रकाशित भएको छैन अनि पाठयपुस्तकहरूमा रहेको भद्रगोल सच्याइएको छैन । अब शुद्ध र सही नेपाली कसरी लेख्ने त भनेर बाटो देखाउने कुनै माध्यम छैन । यो अन्योल र शून्यताका बीच यो पुस्तक सही बाटो देखाउने एक मात्र आधारका रूपमा उपस्थित हुन पुगेको छ । यस प्रकार, पुस्तक प्रकाशनमा भएको विलम्बले यसको उपयोगिता र सान्दर्भिकतालाई झन् टडकारो बनाएको छ ।
भाषामा अनधिकृत हस्तक्षेपको कुरा उठाउनुभयो । यो रातारात भएको हो र ?
होइन । चार दशकदेखिको कसरत हो यो । यसको सूत्रपात २०३४ सालमा त्रिभुवन विश्वविद्यालयले गर्यो, जसलाई २०४० को शब्दकोशमा लागू गरियो । संस्कृतबाट आएका तत्सम शब्दलाई चाहिँ जस्ताको तस्तै राख्ने, त्यसबाहेक अन्य सबै भाषाबाट आएका त्यस्तै शब्दको भने हिज्जे बिगारेर लेख्नुपर्ने उदेकलाग्दो नियम घोषणा गरेर थालिएको थियो भाषामाथिको अनधिकृत हस्तक्षेप । अनधिकृत किनभने यसो गर्ने अधिकार कसैलाई पनि हुँदैन— चाहे त्यो कुनै विद्वान्, विद्वत्समूह, कुनै निकाय, सरकार वा सार्वभौम संसद् नै किन नहोस् । यो कथित नियम अन्तर्गत श/ष को सट्टा स मात्र र दीर्घ ई/ऊ को सट्टा ह्रस्व मात्र लेख्नुपर्ने गराइयो । अनि हिज्जे बिगारेर अंगभंग गरिएका शब्दहरूलाई पहिलो दर्जामा उकालेर शब्दकोशमा मूल प्रविष्टि दिइयो र हिज्जे नबिगारिएका शुद्ध शब्दहरूलाई दोस्रो दर्जामा झारेर वैकल्पिक प्रविष्टि दिइयो । यसले भाषामा अराजकताको अन्तहीन शृंखलालाई जन्म दियो । वर्षेनि जस्तो जथाभावी हिज्जे बिगार्दै जाने, जथाभावी पदवियोग गर्ने, वर्णमालाबाट अक्षरहरू नै हटाइदिने अनि संयुक्त अक्षरका खुट्टा काट्ने कुचक्र यसकै परिणाम थियो ।
झ्वाट्ट सुन्दा शब्दकोशमा जस्तो रूपमा प्रविष्टि दिए पनि के फरक पर्छ, आखिर शब्द त रहिहाल्छ जस्तो लाग्छ । तर यो ज्यादै गम्भीर कुरा हो । किनभने आधिकारिक शब्दकोशमा जुन हिज्जेलाई मूल प्रविष्टि दिइएको छ, राज्यको औपचारिक लेखापढी, सरकारी कामकाज र पाठयपुस्तकमा त्यही हिज्जे लागू गर्नुपर्ने हुन्छ र गरिन्छ । नयाँ पुस्ताले बिगारिएको हिज्जे मात्र पढ्न पाउँछ र सही हिज्जेलाई गलत ठान्न थाल्छ । यसरी एउटै पुस्ताको अन्तरालमा शुद्ध हिज्जेका शब्दहरू प्रयोगबाट पूरै विस्थापित हुन पुग्छन् । थप दु:खको कुरा त के भने, यति कुचक्रले पनि नपुगेर उक्त शब्दकोशको २०५८ सालको संस्करणदेखि त मूल शब्दलाई वैकल्पिक प्रविष्टि पनि नदिई चुपचाप शब्दकोशबाटै हटाउने अभियान चलाइयो । भाषाप्रति र यसका प्रयोगकर्ताप्रति योभन्दा ठूलो विश्वासघात अरू के हुन सक्छ ?
त्यस बेला यसको विरोध कसैले गरेन त ?
हस्तक्षेप अभियानको नेतृत्व त्रिवि र शब्दकोश दुुवैमा बालकृष्ण पोखरेलले गर्नुभएको थियो । यसको सूत्रपात गरिन लाग्दा, २०३४ सालमै यसका विरुद्ध मुकुन्दशरण उपाध्याय उभिनुभएको थियो । उहाँको भनाइ थियो— कुनै पनि भाषाबाट आएका शब्दलाई बलजफ्ती बिगार्न हुँदैन, शुद्ध शब्दलाई मिल्काएर अशुद्ध शब्दलाई चलाउन हुँदैन । यसले भाषालाई चर्को विवाद, विग्रह र अराजकताको चक्रमा फसाउनेछ । तर त्यस बेला उहाँको कुरा कसैले सुन्न चाहेन । क्रमश: अरूले पनि सशक्त रूपमा आवाज उठाउँदै आए । त्यसको बृहत्तर रूप चाहिँ आजभन्दा पाँच वर्षअघि प्रकट भएको हो ।
समयक्रममा मुकुन्दशरणको भनाइ सही ठहरियो । आफ्नो नेतृत्वमा गरिएको कामले नेपाली भाषा विवाद, विग्रह र अराजकतामा फस्दै गएको देखेपछि बालकृष्ण पोखरेल ठूलो पछुताउमा पर्नुभयो र त्यसलाई पापको संज्ञा दिँदै प्रायश्चित्तका लागि अग्रसर हुनुभयो । यस क्रममा यी दुवै महारथी आआफ्ना मतभेद थाती राखेर एक ठाउँमा उभिनुभयो र गहन विमर्शपछि नेकशुले–२०६९ ले आकार लिन पुग्यो । त्यस्तै चिन्ताले पिरोलिएका कृष्णप्रसाद पराजुली, कुमारबहादुर जोशी, कमल दीक्षित, जगदीश घिमिरे आदिको पनि यसमा उत्तिकै योगदान रह्यो ।
त्यसो भए, प्रज्ञा प्रतिष्ठानले २०४० सालको शब्दकोशमा फर्किने भने पनि मुख्य समस्या समाधान भइसकेको रहेनछ, होइन ?
हो नि । तर धेरैलाई यो भ्रम छ । मैले यहाँ त्यसैलाई स्पष्ट पार्न खोजेको हुँ । प्रज्ञा प्रतिष्ठान सही दिशातिर उन्मुख भएको त हो र यसको स्वागत पनि हुनुपर्छ । शुद्ध शब्द र तिनको प्रयोगलाई निषेधै गर्ने २०५८ सालयताको उपक्रमलाई त यसले निरस्त पारेको छ, तर समस्याको मूल जरो जस्ताको तस्तै छ । त्यसलाई उसले सम्बोधन गरेकै छैन । समस्याको जरोमा पुगेर मात्र त भएन नि, त्यसलाई उखेल्नु पनि पर्छ । नत्र त घुम्दैफिर्दै रुम्जाटार भइहाल्यो नि ।
नेपाली भाषामा जहिल्यै हिज्जेकै विवाद उठिरहेको हुन्छ । यो कहिल्यै टुंगिएला कि नटुंगिएला ?
हिज्जे सम्बन्धमा नेपाली भाषाका परस्पर विरोधी अथवा समानान्तर मुख्य दुई धार भनेकै माथि उल्लेख भएका तिनै दुई भाषा–महारथीहरूका धार हुन् । अरू सबै यिनै दुई गुरुकुलमध्ये एउटाका शिष्य वा अनुगामी हुन् । दुवै महारथीले नेपाली भाषालाई विग्रह र अराजकताबाट जोगाउन भनी एक ठाउँमा आएर एउटा व्यवस्था दिनु भनेको सानो कुरा होइन । यो समन्वय र सहमतिको, भाषिक संवेदनशीलताको व्यवस्था हो । यसलाई अनुसरण गर्नासाथ हिज्जेको विवाद टुंगिन्छ । वर्षेनि नयाँ नियम भन्दै हिज्जे बदल्दै जाने चलन सदाका लागि समाप्त हुन्छ । २०४० सालको अवस्थामा फर्कने प्रज्ञा प्रतिष्ठानले यही दिशातिर कदम उठाएको हो, जसलाई त्रिविले समेत अनुमोदन गरेको छ । मेरो पुस्तक ‘नेपाली कसरी लेख्ने ?’ पूरापूर यही व्यवस्थालाई स्विकारेर आएको हो ।
भाषिक एकरूपताका लागि अरूले गरेका पहललाई अराजक भन्दाभन्दै तपाईंले पनि यस पुस्तकमा आफ्नै मान्यता स्थापित गर्न खोज्नुभएको छ नि ?
त्यस्तो कदापि होइन । मैले भर्खरै माथि केही नाउँ लिएँ । कसैसँग तुलना गर्न नसकिने यस्ता भाषा–महारथीहरू र विशिष्ट भाषासेवीहरूले मिलेर गरिदिएको व्यवस्था छोडेर आफ्नो बेग्लै मान्यता बोकिहिँड्ने धृष्टता म कसरी गर्न सकुँला ? उहाँहरूको संयुक्त प्रज्ञालाई उछिन्न सक्ने तहमा पुगेको भ्रम अरू कसैलाई होला, ममा त्यस्तो भ्रम छैन । परम्परा नभत्काउने तर सिद्धान्त र परम्पराका नाममा जडसूत्रवादी नहुने, भाषालाई उसको स्वाभाविक गतिमा अघि बढ्न दिने, कुनै पनि बहानामा जबर्जस्ती केही पनि नलाद्ने, भाषाले अंगीकार गरेको प्रवृत्ति र स्वीकार गरेको कुरालाई सहर्ष स्विकारेर अघि बढ्ने नेकशुले–२०६९ का मान्यता हुन् । भाषाभन्दा माथि कोही हुँदैन, यो स्वत: परिवर्तनशील हुन्छ, सुधार वा परिवर्तनका नाममा भाषालाई एकातिर घिच्याउने अधिकार कसैलाई हुँदैन भन्ने मान्यता यसले अँगालेको छ ।
यो व्यवस्था निर्माणका क्रममा भएको छलफलमा म पनि आकण्ठ डुबेको थिएँ । त्यसैले त्यसपछाडिका तर्क, चिन्ता, चिन्तन र उपपत्तिबारे बताउन सकुँला र त्यसका बुँदाहरूको व्याख्या पनि गर्न सकुँला । तिनका आधारमा थप वा अवशिष्ट केही कुरा भन्न वा गर्न प्रयास पनि गरुँला । तर, आफ्नो बेग्लै मान्यता लिई हिँड्न सक्ने सामथ्र्य ममा छैन ।
तपाईंले पुस्तक तयार पार्न निकै मिहिनेत गर्नुभएको भनिएको छ । तर यो गल्ती/अशुद्धिहरूको प्याकेज जस्तो देखिन्छ । संयुक्त क्रियापद जोडेर लेख्ने भन्दाभन्दै धेरैतिर छुट्टिएको देखिन्छ (गर्न हुँदैन, जोड्नु पर्दैन), अंग्रेजीका एकै खाले कतिपय शब्दको हिज्जेमा भिन्नता देखिन्छ (Clinic अरक्लीनिक, Visa भीसा, Spirit स्पिरिट), शृ (शृंखला) हुनुपर्ने ठाउँमा श्रृ (श्रृंखला) पाइन्छ अनि चन्द्रविन्दु पनि घटेका छन् । असावधानीवश यस्तो भएको हो कि यस्तै गर्न खोजिएको हो ?
चन्द्रविन्दु दिँदा अन्य मात्रामा मिसिएर एकै ढिक्का जस्तो देखिने अवस्था नहोस् भनेर कतिपय ठाउँमा शिरविन्दुको प्रयोग गरिएको हो । यस सम्बन्धी नियम पुस्तकमै छ । शृ र श्रृ दुवै प्रचलनमा रहेकाले लोकले मन पराएको बहुप्रचलित रूपलाई तिरस्कार नगरिएको हो । संयुक्त क्रियापद छुट्टिएको र अंग्रेजीका एकै खालका शब्दमा हिज्जे फरक देखिएको चाहिँ असावधानी वा प्रुफको गल्तीको परिणाम हो । त्यसलाई तुरुन्तै हुन लागेको पुनर्मुद्रणमा सच्याइनेछ ।
उच्चारणको प्रसंगतिर जाऔँ । नेपाली जिब्राले श/ष/स को भेद छुट्टयाउन सक्दैन, त्यसैले स मात्रै लेख्नु गर्नुपर्छ, ञ र ण उच्चारण गर्न सक्दैन त्यसैले यस्ता अक्षरहरूलाई वर्णमालाबाटै हटाउनुपर्छ भन्छन् एक थरी भाषागुरुहरू । तपाईं चाहिँ के भन्नुहुन्छ ?
यी दिउँसै रात पार्ने खालका तर्क हुन् । म लामो कुरा गर्दिनँ । तपाईं स्वयं ‘निस्तो’ र ‘दुष्ट’ शब्द उच्चारण गरी हेर्नुस् । तिनमा रहेको स/ष उच्चारण गर्दा जिब्रो कहाँ ठोकिन्छ, त्यहाँबाट हावा/सास कसरी अघि बढ्छ र तिनको ध्वनि कानले कस्तो सुन्छ, ध्यान दिनुस् । त्यस्तै राणा/राना, वाणी/बानी शब्द उच्चारण गरी हेर्नुस्, जिब्राले ण उच्चारण गर्ने मात्र होइन, कानले पनि टडकारै ण सुन्दो रहेछ र त्यसका आधारमा फरक अर्थबोध पनि हुँदो रहेछ भन्ने स्वत: थाहा पाउनुहुनेछ । यति थाहा पाउन विद्यावारिधि गरिरहनुपर्दैन । बरु विद्यावारिधि गरेकाले चाहिँ यो थाहा पाउन छोड्दा रहेछन् । उच्चारण कहिल्यै नसिकाउने अनि उच्चारण गर्न सक्दैनन् भने अक्षरहरूलाई वर्णमालाबाटै हटाउने काम त जघन्य भाषिक अपराध हो ।
तत्समबाहेक अन्य शब्दमा श/ष/स को सट्टा एउटै स लेख्दा, दीर्घ ई/ऊ को सट्टा ह्रस्व मात्र लेख्दा विद्यार्थीका लागि सरल हुन्छ भन्ने तर्क गर्नेहरू पनि छन् नि ?
सरलताको यो नारा झ्वाट्ट सुन्दा निकै आकर्षक लाग्छ । तर यो घातक नारा हो । यी यस्ता अक्षर र ध्वनि हुन् जसले शब्द र बोलीलाई विशिष्टता र गहिराइ दिन्छन् । विश्वका भाषा सिक्न, बोल्न र विश्वसँग दोहोरो कुराकानी गर्न यिनको महत्त्व अतुलनीय छ । शिक्षाको उद्देश्य मानिसमा लुकेको क्षमतालाई विकसित गराएर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु हो । सरलताका नाममा भइरहेको क्षमता पनि समाप्त पारेर झन् कमजोर बनाउने योजनालाई शिक्षा भन्न सकिँदैन । जीवनमा उँभो लाग्न र अघि बढ्न चाहनेले यस्तो बाटो कहिल्यै रोज्दैन ।
श/ष, ई/ऊ हटाउने नियमले भाषालाई नराम्रो असर पार्यो भनेर यसैलाई संकेत गर्न खोज्नुभएको हो ?
त्यसले भाषालाई अरू पनि थुप्रै घातक असर पारेको छ । अन्योल, अस्थिरता र अराजकता बढाएको त छँदै छ, नेपाली भाषालाई संकीर्ण र अपभ्रंशमुखी बनाएर भाषाबाट भाषिकातर्फ उन्मुख गराएको छ । संसारभर शुद्ध रूपमा लेखिने शब्द बिगारेर लेख्नुपर्दा नेपालीप्रति हीनताबोध पैदा गरेको छ । दिवंगत र जीवित सिद्धहस्त स्रष्टाहरू शुद्ध लेख्न नजान्नेमा दरिएका छन् । नेपाली शुद्ध लेख्न सक्छु भन्ने नेपाली भेट्न दुर्लभ हुन थालेको छ । नेपालबाहिरका नेपालीले नेपालको नेपालीलाई मानक मान्न छोडेर बेग्लै मानक शब्दकोश बनाउने प्रयास थालेका छन् । अझ डरलाग्दो कुरा त यसले भाषिक द्वन्द्वको बीउ रोपेको छ ।
कसरी ?
सूत्रबद्ध रूपमा भन्दा, यसले हिमाल, पहाड र तराईका विभिन्न राष्ट्रिय भाषाका शब्दहरूको अंगभंग गरेर तिनको शुद्ध रूपलाई नेपालीमा अशुद्ध र अग्राह्य घोषित गर्छ । हरेक समुदायको अस्मिता र पहिचानको एउटा प्रमुख आधार भाषा हो, यसले त्यसैमा ठाडो हमला बोल्छ । आफ्नै मातृभूमिमा पितृपुर्खादेखि प्रयोग हुँदै आएका आफ्नो भाषाका शब्दलाई राज्यसत्ताको बलमा कसैले अग्राह्य घोषित गर्छ, तिनको अंगभंग गर्छ र बिगारिएका शब्द प्रयोग गर्न बाध्य बनाउँछ भने सोच्नुस्, उनीहरूको मनमा कति ठूलो चोट पर्छ । यसले उनीहरू सबैमा नेपाली भाषाप्रति वितृष्णा र विद्वेषभाव पैदा गर्दै लगेको छ, जसले अन्तत: भाषिक द्वन्द्व, विग्रह र विखण्डनमा पनि पुर्याउन सक्छ । यसले नेपाली भाषालाई असहनीय धक्का दिन सक्छ । कैयौँ देशमा त्यहाँका भाषा यसै गरी विस्थापित गरिएका छन् । यसतर्फ हामी अत्यन्त संवेदनशील हुनुपर्छ ।
फेरि पुस्तकतिरै आऔँ । तपाईंले शुद्ध वा मूल शब्दतिर जानुपर्छ भन्ने आग्रह राख्नुभएको देखिन्छ । ‘सहर’ होइन ‘शहर’ लेख्नुपर्छ भन्नुहुन्छ । तर कतिपय भाषागुरुहरू मूलमा जाने भए उर्दूको ‘शहर’ होइन, अरबीको ‘शेहर’ मा पुग्नुपर्छ भन्ने तर्क गर्छन् ।
यसको उत्तर त्यही तर्कमा निहित छ । ‘शहर’ शब्द नेपालीमा अरबीबाट होइन, उर्दूबाट आएको हो, त्यसैले ‘शेहर’ को कुरा उठाउनु कुतर्क मात्र हो । हाम्रो आग्रह त नेपालीमा आएर स्थापित भइसकेका शुद्ध शब्दलाई बलजफ्ती भाँचकुँच नगरौँ भन्ने मात्रै हो ।
बुझ्नुपर्ने कुरा के हो भने, आगन्तुक शब्द हाम्रो भाषामा आफैँ पस्न आएका अवाञ्छनीय शरणार्थी होइनन्, आफ्नो भाषालाई समृद्ध र बढी सम्प्रेषणीय बनाउन हामीले सादर निम्त्याएका र भाषिक नागरिकता प्रदान गरेका ‘व्यक्ति’ हुन् । आफ्नो गर्जोले हामी कुनै विदेशीलाई नागरिकता दिन्छौँ भने ‘नेपाली हाइट’ मा मिलाउनुपर्छ भनेर उसका खुट्टा काट्न वा नाक ताछ्न थाल्दैनौँ । त्यो असभ्यता, बर्बरता र कृतघ्नता हो । तिनले यहाँको नियम–कानुन र प्रचलन भने अवश्य मान्नुपर्छ । आगन्तुक शब्द पनि यस्तै हुन् । जबर्जस्ती तिनको अंगभंग गर्न मिल्दैन । आफू सग्लो रहेरै तिनले हाम्रो भाषिक नियम–कानुन मान्नुपर्छ । मानेकै छन् । हाम्रै नियम अनुसार बहुवचनमा जान्छन्, हाम्रै क्रियापदबाट नियन्त्रित हुन्छन्, तिनमा हाम्रै विभक्ति हाम्रै पाराले लाग्छन्, तिनको प्रतिनिधित्व पनि हाम्रै सर्वनामले गर्छन् ।
तर, धेरैजसो प्रयोगकर्ता आगन्तुकको तद्भवीकरणमा बानी परिसके नि त ? जस्तो, कम्प्युटरमा ‘सहर’ लेख्दा एकातिरको की थिच्ने बानी परेको छ, अब ‘शहर’ लेख्नुपरे अर्कातिर थिप्नुपर्ने हुन्छ । नेपालीले खालि हिज्जे सिकेरै जिन्दगी बिताउनुपर्ने ?
हेर्नुस, नजानेर उल्टो जुत्ता लगाउन थालियो भने त्यसमा पनि बानी पर्छ, त्यसपछि सुल्टो लगाउन थाल्दा दुइचार दिन अप्ठयरो लाग्छ । सुल्टो के हो भन्ने थाहा पाएपछि त सुल्टै लगाउनुप¥यो नि । यो त्यस्तै समस्या हो, एकदुई हप्ताकै अभ्यासले समाधान भइहाल्छ ।
पुस्तकमा ‘भगवान्,’ ‘हनुमान्’ जस्ता हलन्त शब्दलाई खुट्टा नकाटी राखिएको छ । के हलन्त बहिष्कार गर्न खोजिएको हो ? फेरि, ‘पश्चात्’ लाई ‘यथावत्’ राख्नुको कारण चाहिँ ?
हलन्त बहिष्कार गर्न खोजिएको बिलकुलै होइन । हलन्त शब्दले त्यहाँ यथोचित स्थान पाएका छन् । तर एउटा सत्य के हो भने, संस्कृतबाट आएका हलन्त शब्दलाई खुट्टा नकाटी लेख्ने प्रवृत्ति नेपाली भाषाले टडकारो रूपमा विकास गर्दै लगेको छ । भगवान, हनुमान जस्ता असंख्य शब्द यसका उदाहरण हुन् । यिनलाई हलन्त लेख्ने चलन लगभग हराइसकेको छ । अझ हामी त ‘महान्’ लाई ‘महान’ मात्रै लेख्दैनौँ, संस्कृतले अशुद्ध मान्ने ‘महान’ मा संस्कृतकै भाववाचक प्रत्यय जोडेर ‘महानता’ पनि बनाउँछौँ र ढुक्कसँग चलाउँछौँ । बोल्दा खुट्टा काटे पनि लेख्दा सग्लै लेख्नु नेपालीको आफ्नै विशेषता बन्न पुगेको छ । राम, बलराम मात्र होइन, स्कूल, फेशन जस्ता शब्द पनि यसका उदाहरण हुन् । भगवान, हनुमान आदिलाई पनि हाम्रो भाषाले त्यही लहरमा राख्न थालेको हो । अनायास हुँदै आएको यो स्वाभाविक परिवर्तनलाई पुस्तकले अस्वीकार नगरेको मात्र हो । हलन्त नहटिसकेका ‘पश्चात्’ जस्ता शब्दमा जबर्जस्ती हलन्त हटाउनेतिर लागिएको पनि छैन ।
समस्त शब्दले आँखाले हेर्दा लामा देखिए भने छुट्टयाउने, नत्र जोड्ने चलन चलेको छ । यो पुस्तक पनि त्यसैको पछि लागेको हो ?
हो । किनभने समस्त शब्द जति लामो भए पनि जोडेर लेख्ने संस्कृतको चलन हो । नेपाली भाषाले चाहिँ हेर्दा सजिलो लाग्नेसम्मलाई मात्र जोड्न मन पराउँदो रहेछ, नत्र छुट्टयाउँदो रहेछ । यो पनि यसको आफ्नै विशेषता हो । त्यही भएर हामी ‘गृहमन्त्री’ जोड्छौँ, ‘महालेखा परीक्षक’ छुट्टयाउँछौँ । ‘त्रिभुवन विश्वविद्यालय’ वा ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ लाई एउटै डिकोमा राख्दैनौँ । अर्थ फरक पर्दैन र परम्परा भत्कँदैन भने छुट्टयाएर लेख्ने प्रवृत्ति आजको नेपाली भाषामा क्रमश: बढ्दै गएको छ । यो गल्ती वा विकृति नभएर सरलतातिरको स्वत:स्फूर्त यात्रा हो । भाषा सामान्यत: नियममै चल्छ, तर कहिलेकाहीँ रूढिबद्ध पनि हुन्छ र यदाकदा यसले यादृच्छिक गतिसमेत अपनाउँछ । भाषाले स्वाभाविक रूपमा चालेको पाइलाप्रति संवेदनशील हुनुपर्छ । जडसूत्रवादी बनेर त्यसमाथि आक्रमण गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।
हिज्जे सम्बन्धी समस्या समाधान गर्न, पत्रपत्रिकामा प्रयोग भएका शब्दको संग्रह गरेर हेर्ने (कर्पस) र जुन हिज्जेको बढी प्रयोग भएको देखिन्छ त्यही लेख्ने पनि भन्छन् नि कतिपय भाषागुरुहरू ?
त्यो पनि एउटा विधि हो, तर शुद्ध हिज्जे लेख्न बाधा सृजना नगरिएको अवस्थामा मात्र त्यसले काम गर्छ । अनेक उर्दी जारी गरेर शुद्ध हिज्जे लेख्न नदिने, शुद्ध हिज्जेका शब्दलाई शब्दकोशबाटै हटाउने हाम्रो जस्तो अवस्थामा कर्पस जस्तो वैज्ञानिक विधिले पनि काम गर्दैन ।
प्रकाशित: कान्तिपुर दैनिक, भाद्र १७, २०७४
Comments