नारायण वाग्लेको चर्चित उपन्यास 'पल्पसा क्याफे'माथि नाटक बन्ने भएको छ । थिएटर भिलेजका निर्देशक बिमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल चलिरहेको छ ।
उपन्यासको मुख्य पात्र 'दृश्य'मा विपिन कार्कीले अभिनय गर्ने भनिए पनि बीचमा केही हेरफेर हुन लागेको छ । उपन्यसको 'पल्पसा' पात्रको भूमिकामा भने अभिनेत्री स्वस्तिमा खड्का देखिने पक्का छिन् ।
स्वस्तिमाले केही समयअगाडि आफ्नो अफिसियल फेसबुकबाट नयाँ काम गर्न लागेको उल्लेख गरेकी थिइन् । नाटकको रिहर्सलको तस्वीर पोष्ट गर्दै उनले लेखेकी छिन्, 'काम चलिरहेको छ । केही चाँडै आउनेछ ।'
कोभिडको चाप हल्का भएपछि नाटक प्रदर्शनमा आउने निर्देशक सुवेदीले जानकारी दिए । 'केही परिमार्जन भइरहेको छ । हामी यसबारे छिट्टै विस्तृत जानकारी गराउनेछौँ', निर्देशक सुवेदीले भने ।
वाग्लेको उपन्यास पल्पसा क्याफे मदन पुरस्कार प्राप्त 'बेस्ट सेलर' हो । पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ ।

via: Shilapatra
Comments