अर्थशास्त्री विश्व पौडेलको विद्वत्प्रवचनः
२०७७ पुस १४ गते kitabkiro
“हामीले साहित्यमा अर्थ त धेरै खोज्छौं, तर के साहित्यको अर्थ बुझेका छौं ?”
मंगलबार विहान ९ बजे, नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री विश्व पौडेलको विद्वत्प्रवचनः
साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरुलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरुमा, स्थापित सिध्दान्तहरुमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरुमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरुले साहित्यको संवर्द्धनमा असर पार्छन् ।
यो वर्षको बजेटमा विदेशबाट ल्याइएका पुस्तकमाथिको १० प्रतिशत भन्सार कर लगाउँदा भएको व्यापक प्रतिक्रिया यसको एक उदाहरण हो । अर्कोतिर साहित्यले अर्थशास्त्रलाई टेको दिन्छ । रूद्रराज पाण्डेको रुपमती उपन्यासमा प्रमुख पात्र रविलालले लगाएको कपडाको वर्णनले विसं १९९० तिरको नेपालको मध्यमवर्गीय व्यक्तिले उपभोग गर्ने प्रवृत्तिबारे जान्न सकिन्छ भने बालकृष्ण समको मेरो कविताको आराधन पढ्दा राणाहरुले विदेशी आयातलाई कसरी हेर्थे भन्ने पनि जानकारी हुन्छ ।
सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालले जुध्दशमशेरका पालाको नेपालको आर्थिक कथा भन्छ भने हर्क गुरूङको मैले देखेको नेपालले विसं २०३० को सेरोफेरोको नेपालको आर्थिक तथा सामाजिक चित्र देखाउँछ । देवकोटाको मुनामदन र सीमापारिबाट लेखिएका लीलबहादुर क्षत्रीका बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्ता साहित्यिक कृतिमा संवेदनशील राज्यको संरक्षणको अभावमा पहाडका हन्डर खाएर विदेश गएका नेपालीका कथा भेटिन्छन् ।
साहित्यले अर्थशास्त्रलाई धेरै मद्दत गर्न सक्छ । पुरानो युगको खाद्यान्न उपभोगको कुरा गरौं । नेपालको अर्थशास्त्र मात्रै पढ्ने हो भने खाद्यान्न उपभोगको तथ्यांक धेरै अघिसम्म जाँदैन । गरूडनारायण गोङ्गलले विसं १८४६ मा लेखेको सम्झना पढेर हामीलाई भक्तपुरे मल्ल राजा रणजित मल्लको खानाका लागि मसिना चामल, छाँटाको दाल, मुगीको दाल, घिउ, तेल, अचार, रोटी चाहिन्थ्यो भन्ने जानकारी हुन्छ । पृथ्वीनारायण शाहका समकालीन कवि सुवानन्ददासले गोर्खाली महाराजको ज्युनारको यसरी वर्णन गरेका छन्-
नेपालको सिन्की लुटि मंरातको घिले भुटि
पालपाको ल्याउ हिङ जिरो रि सिङ को ल्याउ पिरो;
तनहुँको भातसित भिर्कोटको दालसित
कन्चन कटौरा भरी स्वर्णका थलिया भरि
अष्टदल चौकी बसी गंगाजल झारी भरि;
पुरुव मुहुडा गरी
महाराजको जिउनार बनाऊ है ।
***
नेपालीमा सुरूमा लेखिएका पुस्तक महाभारत वा रामायण आदि मुलुकमा लोकप्रिय धार्मिक ग्रन्थका नेपाली अनुवाद थिए । मूल महाभारत वा रामायणको कथा लेखन उत्कृष्ट छ । महाभारतमा धेरै उपकथा छन् । शान्तिपर्वमा शासन कसरी गर्ने भन्नेबारे लामो चर्चा छ । धेरैजसो प्रश्न कथाहरुको उदाहरण दिएर अविस्मरणीय बनाई उत्तर दिइएका छन् । र पनि हरेक कथा या त राजाका छन्, या ऋषिका । हरेक कथामा राजा, ऋषि वा अन्य कुनै अलौकिक पात्र हुन्छन् । साधारण मान्छे मात्र भएका कथा छैनन् भन्दा पनि हुन्छ । महाभारत र रामायणको प्रभाव भएको हाम्रो मुलुकमा यही शैलीको प्रभाव लामो समय रहिरह्यो ।
अर्थशास्त्रीहरुका लागि औसत जनताका दुःखकष्टको वर्णन राजामहाराजाको जत्तिकै महङ्खवपूर्ण हो । तर पुरानो साहित्यमा यो सजिलैसँग पाइँदैन । यसको असर गोर्खा राज्य विस्तारकालको मुलुकको जनजीवन बुझ्न सक्ने हाम्रो क्षमतामा परेको छ । हामीलाई थाहा छ, धेरै कारणले लडाइँ सजिलो थिएन । दामोदर पाँडेको पालामा विसं १८५८ मा एक मुरी बिजनको खेतको कर रू. १ थियो भने अङ्ग्रेजसँग युध्द गर्ने बेला त्यसको १३ वर्षपछि विसं १८७१ मा रू. ५ । लडाइँ बढ्दै जाँदा धेरै नेपालीहरु यस्तै बढ्दो करको मारमा परेका थिए । घरका छोराहरु लडाइँमा घिसारेर लगिए । कैयौं बुहारी सती पठाइए ।
पुराना नेपाली कवि वा लेखकले विसं १८७३ सम्मको राष्ट्र विस्तारका क्रममा बढ्दो पोत तिर्नुपरेका रैकर जग्गामा बसेका रैतीहरु, कुत बढाबढ गरेर जग्गाको उत्पादन बचत खेती गर्नेको हातबाट खेती नगर्नेको हातमा पुर्याउँदा दुःखी भएका किसानहरु, झारामा काम गर्नुपरेका व्यक्ति, धोक्रोमा पैसा बोकेर तिर्जा किन्न आउने धोक्रे र तिनीहरुबाट सताइएका किसानको कथा पनि लेखिदिएको भए हामीलाई वसन्तपुर दरबारमा कसले कसलाई काट्यो भन्ने इतिहास भनेर पढाइने कर्कश व्याख्यानबाट केही राहत मिल्थ्यो । एकीकरणका बेला र त्यसपछि पनि लड्न घरबाट उठाएर लगिएका जवानहरु, युध्दले उठीबास लगाएका व्यक्तिहरु, रणमा घाइते भएर उपचार नपाई बिस्तारै बितेका योध्दाहरु, धुकचुक भएर छोरा फर्कने दिन कुरेका आमाहरु, उत्ताउलो भएर लड्न आफैं सुरिएर हिँड्ने अल्लारे युवाहरु, वीर सेनापतिहरुले बूढो उमेरमा उठाएर लगेका कलिला महिलाहरु, वीरहरुको मृत्युपछि जबर्जस्ती सती पठाइएका महिलाहरु, युध्द सकिएपछि पैसाको आशामा लाहोर जाने युवाहरु, पन्जाबको पतनपछि लाहोरको साटो मुग्लानमा गएर ब्रिटिस सेनामा भर्ना हुने नेपाली ठिटाहरुको धेरै कथा हाम्रो साहित्यको त्यसबेलाको अल्पविकासले छुटेको छ ।
लडाइँ शौर्यगाथा मात्र होइन, लडाइँपछि जनतालाई केही भएको थिएन, जे हुनु भइहाल्यो भन्ने जस्ता कुरा सही होइनन् । लडाइँ भनेको भयावह कुरा हो । यो कुरा अर्थशास्त्र र साहित्य दुवैमा आउन जरूरी छ । नेपालीहरुले धेरै लडाइँमा भाग लिएका थिए । कुनै हाम्रो आफ्नै मुलुकका लडाइँ थिए, कुनै अरुका लागि लडिएका । तर सबैको असर हाम्रा सर्वसाधारणलाई विभिन्न तरिकाले परेका थिए । लडाइँका आयामहरुलाई सबै आयामबाट हेरिनुपर्छ । गन विद द विन्डमा मार्गरेट मिचेलले लडाइँमा युवाहरु गएपछि घरमा बसेका महिलाहरुको दशाको कथा भने झैं हाम्रामा त्यसरी कथा भनिएनन् । केही अपवाद नभएका होइनन् । भाषावंशावलीमा पृथ्वीनारायण शाहले कब्जा गरेपछिको कान्तिपुरको वर्णन गर्दै भनिएको छ, '..येक नेवारका स्वास्नी अति राम्री थिइन्, गोर्षामहाराजबाट प्रवेश गर्या उप्रान्त डराई पैह्ले स्त्रीलाई मारी पछिबाट आफूले पनि ज्यान त्याग गर्यो ।’ लडाइँको विभीषिकाको वर्णन गर्दै सुन्दरानन्द बाँडाले आफ्नो त्रिरत्न सौन्दर्यगाथामा लेखेका छन- ‘तहाँ रणभूमिमा श्येन भया, उलुक भया, काग भया, मसानकाग भया, ग्रिध्र भया,.. स्याल भया, .. पशुजात पन्छीजातहरु शूरवीर सिपाहीका आलो मासु आलो रगत बोसो गिदी आन्त्रा भुँडीसमेत यथेष्ठ षान पाउँदा र्हीष्टपुष्टांग भयाका छन् ।’
मोदीआइनमा महाभारत युध्द नभइदेओस् भनेर प्रार्थना गरेर बसेका महिलाहरुको कथा छ, जो भगवान् कृष्णको युध्द गराएरै छाड्ने प्रवृत्तिबाट रूष्ट छन् । पृथ्वीनारायण शाह मर्दा नौ जना श्रीमती सती गएका थिए । उनकी कान्छी श्रीमतीको उमेर निकै कम हुँदो हो । यी सतीहरु मर्दाको स्थिति कहिल्यै सजिलो हुँदैनथ्यो । भक्तपुरका युवराज अच्युत सिंह मर्दा विष्णुमतीमा उनकी रानी सती गएको हेरेपछि गरूडनारायण गोङ्गल बेहोस भएका थिए । त्यसपछि रणजित मल्लले माया गर्दै भनेका थिए, ’हेर ग‘ड, तँ यति कमजोर रोगी रहेछस्, कसरी मसँग काशी जालास् ? घरै फर्की ।’ त्यो बेलाको नेपालमा बाँच्न यसैले मुटु बलियो भएको हुनुपर्थ्यो ।
पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि गोर्खामा युध्दको महिमा चर्को भएको हुनुपर्छ । नामहरुले कतिपय बेला त्यो युगको कथा बोलेका हुन्छन् । नामहरु हेर्दा कहिलेकाहीँ मानिसको परिवारको शिक्षाको स्तर पनि अड्कल गर्न सकिन्छ । जस्तो कसैका हजुरबुबाको नाम तपाईंले सोध्दा उसले कञ्चन भन्यो भने, रुपक भन्यो भने ती त्यो बेलाका तुलनात्मक रुपमा शिक्षित व्यक्तिका सन्तान रहेछन् भनेर अड्कल गर्न सकिन्छ । जेठो जन्मे कृष्ण, माहिलो जन्मे राम, साइँलो छोरो जन्मे हरि राख्ने व्यक्तिहरुले या नाम खोज्न धेरै मिहिनेत गरेका नहोलान् या अद्वितीय या आधुनिक नाम राख्ने शिक्षा नभएकाले त्यस्तो भएको हुँदो हो । आफ्ना छोराछोरीको नाम अरु कसैले नराखेको सुन्दर नाम राख्ने हुटहुटी थोरै व्यक्तिमा हुन्छ । झन् थोरै व्यक्तिले त्यसो गर्न सक्छन् । अर्कोतिर गाउँमा सबैभन्दा पीडित मानिसका छोराछोरीको नाम गोल्छे, पुड्के, दले, सन्ते, डल्ली भएको हुन सक्छ । पण्डितले पनि थोरै दक्षिणा बोकेर मन नलागीनलागी राखिदिएका नामहरु कहिलेकाहीँ सुन्दैमा चिन्न सकिन्छ ।
***
जङ्गबहादुरलाई १८६२ को बासट्ठी हरणले धेरै परि पारेको थियो । उनले हरणजग्गा फिर्ता दिने नियम पनि ल्याएका थिए । जङ्गबहादुरले शासनमा आउनेब्त्तििकै तराईका कैयौं जग्गालाई जथाभावी बिर्ताका रुपमा दिन नपाइने थिति बाँधेका थिए । त्यसअघि राज्य कमजोर थियो, ऊ कैयौं ठाउँमा त आफंै कर उठाउन नसकेर पाँच साल ठेकी (पाँच सालका लागि कुनै क्षेत्रमा कर उठाउने ठेक्का) लगाउँथ्यो । त्यस्ता ठेक्का खानीमा पनि थियो ।
जंगबहादुर सत्तामा आउँदा राज्यकोष खासै बलियो पनि थिएन । राज्यको पूर्ण सैनिकीकरण पनि भएको थियो । सन १८५२÷५३ को एक रेकर्डअनुसार सरकारका नाममा भएको ३८ लाख ११ हजार ८३० मुरी खेतमध्ये ३१ लाख ७८ हजार ११० मुरी सेनालाई र बाँकी अधिकांश राजदरबार र राणा परिवारलाई जान्थ्यो । यो अवस्थामा कला, साहित्यको संरक्षण र प्रवध्र्दन कल्पनाबाहिरको विषय थियो ।
सरकारका तमसुक, सरकारले लेखेका चिठी र सरकारमा गरिएका हारगुहारका निवेदन पढेर अर्थशास्त्रीहरुले त्यस बेलाको उच्च कर र साधारण राज्यव्यवस्थाका असरबारे प्रकाश परेका छन् । महेशचन्द्र रेग्मीका अनुसार विसं १८९० मा भीमसेन थापाको शासनको अन्त्यतिर सल्यानमा कर उठाउने धोक्रेहरुले समय नदिई कडाइ गरी पैसा उठाउन खोज्दा धेरै किसान जमिन छाडेर भागेका थिए । योगी नरहरिनाथको एक खोजअनुसार त्यसको १३ वर्षपछि जुम्लामा विसं १९०३ वैशाखमा ज्युना चँदारालाई रू. २० मा कमारी बनाएर खरिद गरिएको थियो, जुन त्यस बेला साढे १० मुरी चामलको मूल्य थियो । बाउले लिएको छ रूपैयाँ २० वर्षसम्म नतिरेकाले जङ्गबहादुरको पालमा विसं १८२२ मा डोटीमा एक महिलालाई बलात् कमारी बनाइए
***
अर्थशास्त्रीहरुको मतमा कानुनी व्यवस्था कमजोर हुँदा, गुणदोष छुट्टिन समय लाग्दा वा गलत रुपमा छुट्टिँदा अर्थतन्त्र स्वभावैले कमजोर हुन्छ । र लगानीमा व्यक्तिहरुको मन जाँदैन । जङ्गबहादुरले जग्गामा खेती गरेर तिरो तिरिरहेका व्यक्तिको जग्गा अरुलाई मोही लगाउन नपाउने व्यवस्था ल्याएसँगै नेपालमा जग्गामाथि सम्पत्तिको हक स्थापित हुन थाल्यो भने चन्द्रशमशेरले विसं १९७९ वैशाख २ बाट जग्गा दर्ता प्रक्रिया व्यवस्थित बनाएर मालपोत अफिसहरु खुलेसँगै यो झन बलियो हुन थाल्यो । उद्योगमा लगानीका धेरैजसो कुराहरु जुध्दशमशेरको पालामा व्यवस्थित गर्न सुरू गरिए ।
सरकारी पहलमा बजारहरु (अर्थात् गोलाहरु) खोल्ने काम अलि पुरानै भए पनि सीमावर्ती क्षेत्रका महङ्खवपूर्ण सहर विराटनगर, नेपालगन्ज, वीरगन्ज खोल्ने, भित्री पहाडका धरानलाई सहरको रुप दिने काम वीरशमशेर र चन्द्रशमशेरको पालामा सीमामा भारतीय रेलको आगमनसँगै भए । भर्खरै बसेको सहर वीरगन्जमा रेल आउँदाको कथा सजीव रुपमा साहित्यमा उतार्ने काम चाहिँ धनुषचन्द्र गोतामेको विसं २०३५ मा घामका पाइलाहरुमार्फत भयो । अरु सहरका सुरूवाती दिनका कथा नकोरिएकाले ती विस्मृतिको गर्भमा रहे ।
नेपालमा चाहे जस्ता उपभोगका, आयका, बसाइँसराइका तथ्याङ्कहरु २००७ सालको क्रान्तिपछि पनि उत्पन्न भएनन् । २००८ सालमा हामीले मोहीको लागत लिने भनेर सर्भे सुरू गरेका थियौं, सेन्सस पनि २०११ देखि गरेका छौं । तर यी विस्तृत नभएको र हाम्रो तथ्याङ्कशास्त्रसम्बन्धी ज्ञान पनि सीमित भएकाले हाम्रा रेकर्डहरु २००७ सालपछि पनि ठीकै मात्र रहे । तर हाम्रो साहित्य भने सुरूवाती दिनमा ह्वात्तै बढ्यो। कलेज पढ्ने विद्यार्थीको पढ्ने सामग्रीको भोक बढेर पनि होला, स्वतन्त्रता भर्खर उपभोग गर्न थालेर पनि होला, नेपालीहरु हातिमताइका कथा, गुलबकावलीका कथा, मधुमालतीका कथा, पिनासका कथा, लालहीराका कथाबाट आफ्ना कथा लेख्ने स्थितिमा पुगे ।
सामाजिक यथार्थमा आधारित ती कथाले हामीलाई काठमाडौं र मुलुकका ती कुराहरुबारे बताउँछन्, जुन हाम्रो सीमित तथ्याङ्कमा आधारित अर्थशास्त्रले बताउन सक्दैन । उदाहरणका लागि २०११ सालमा हृदयचन्द्रसिंह प्रधानले नारीवादी स्वास्नीमान्छे लेखे; शङ्कर कोइरालाले आञ्चलिक उपन्यास खैरेनीघाट २०१८ सालमा लेखे । भीमनिधि तिवारीले २०२७ सालमा प्रगतिशील उपन्यास इन्साफ लेखे । र रमेश विकलले प्रगतिशील आञ्चलिक अविरल बग्दछ इन्द्रावती २०४० सालमा लेखे । यी सबै उपन्यासले नयाँ गोरेटो कोरे र समाजको नयाँ तस्बिर देखाए ।
तर पनि साहित्यले धेरै क्षेत्र छुन सकेको थिएन । संसारसँग जोडिँदै गरेको नेपालको सुरूवाती दिनका कथा पनि साहित्यमा राम्रोसँग लेखिएका छैनन् । राणाकालसम्म विदेशीका लागि नेपाल बन्द थियो । तर नेपालीहरुलाई विदेश जान खुला थियो । र नेपालीहरु विश्वविजेता जस्ता ब्रिटिसको पछि लागेर संसारका चारै कुना पुगेका थिए । घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली भन्ने गीत गाउने धर्मराज थापाले टिपेको कथा यस्तै व्यक्तिको थियो । तर ती रोएर मात्र बसेका थिए कि हाम्रो देश किन अघि बढेन भन्ने सोचेर पनि बसेका थिए होलान् ? तिनले आफ्नो मुलुकको शोषणदमनलाई नबुझेका थिए होलान् भन्न पनि गाह्रो छ । आजका एनआरएन जस्तै त्यस बेलाका एनआरएन पनि नेपाल फर्केर देशलाई सुधार्छु भन्ने सोचाइ त राख्थे होलान् । वास्तवमा धेरै ठाउँमा भर्खर स्कुलहरु खुल्दा शिक्षक लाहुरेहरु नै थिए ।
हामीले थाहा नपाएको प्रश्न अहिले के हो भने, कसरी नेपालीहरुको विदेश जाने क्रमले नेपाली समाजमा परिवर्तन ल्यायो ? बाहिरबाट आएको धनले, रिटायर्डहरु र विधवाहरुले पाएको पेन्सनले, देखेर आएका नयाँ प्रविधिले कसरी गाउँहरुलाई फरक पारे ? रेडियो घन्काउँदै, घडी लगाउँदै, रूमाल भिर्दै, चुरोट पिउँदै, तास खेल्दै आउने लाहुरेले नेपालको परम्परागत आर्थिक जीवनलाई कसरी फरक पारे ? के गरिब जनताको वित्तीय पहुँचको स्थिति राम्रो हुँदै गयो ? के लाहुर जाने वर्गले धनमा लाहुर नजाने वर्गलाई जित्यो ? राईलिम्बूहरु विसं १९५० तिर मात्र ब्रिटिस आर्मीमा जान सुरू गरेको परिप्रेक्ष्यमा के चौबिसे राज्यहरु पूर्वी राज्यहरुभन्दा आर्थिक रुपले, सामाजिक रुपले केही अघि हुनु लाहुरको उपज थियो ? यी प्रश्नको उत्तर न अर्थशास्त्र, न साहित्यमा भेटिन्छ ।
***
देश के हो ? आखिर देश भन्नु, मुलुक भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो । नेपाल भन्ने कुरा छामेर छाम्न सकिँदैन । जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए । जसले त्यो बेला हारे र पराजय स्विकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्विकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन् । देश विजेताले मात्र बनाएका होइनन्, कर तिरेर, आँसु पुँछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।
धन्यवाद ।
Comments