नवौं लिटरेचर फेस्टिभलका वक्ताहरुको नामावली
२०७७ पुस ७ गते kitabkiro
नवौं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा हुने भएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै यसपालीको साहित्यक महोत्सव भर्चुअल रुपमा पौष १४ र १७ गते आयोजना गरिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ ।
साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको लामिछाने बताउँछन् । नीति तथा कार्यक्रममा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको गण्डकी प्रदेशका लागि पनि फेस्टिभलले टेवा पु¥याउने विश्वास आयोजकको छ ।
दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) मात्र नभई थप उत्साह र ऊर्जा पनि थपिएको आयोजकले जानकारी गराएको छ ।
नवौं संस्करणका वक्ता एवम् मध्यस्तकर्ता:
बिना थिङ तामाङ
राष्ट्रिय बहुभाषिक कविता प्रतियोगिता र बाह्रखरी कथा प्रतियोगिताकी विजेता बिना थिङ तामाङका दुई कथासङ्ग्रह ‘छुकी’ र ‘याम्बुनेर’ अनि एउटा कवितासङ्ग्रह ‘रातो घर’ प्रकाशित छन् ।
रमेश भुसाल
थर्ड पोलमा कार्यरत रमेश भुसाल वातावरण पत्रकार हुन् । वातावरण पत्रकारहरूको विश्वव्यापी सञ्जालअन्तर्गत दक्षिण एसियाली कार्यक्रम हेर्ने उनले ‘द हिमालयन टाइम्स’मा प्रमुख वातावरण संवाददाता, उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम प्रस्तोता तथा प्रोड्युसर अनि ‘बिबिसी नेपाली सेवा’मा विज्ञान संवाददाता भएर काम गरेका छन् ।
चन्द्रप्रसाद ढकाल
आइएमई ग्रुपका अध्यक्ष तथा सहसंस्थापक चन्द्रप्रसाद ढकाल इन्डोनेसियाका लागि अवैतनिक महावाणिज्यदूत हुन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल लगानी बोर्डका सदस्यसमेत हुन् ।
सिलसिला आचार्य
हिमालयन क्लाइमेट इनिसिएटिभकी प्रमुख कार्यकारी अधिकृत र हाम्री बहिनी—द ग्रिन एन्जेल्स सोसल इन्टरप्राइजकी सहसंस्थापक सिलसिला आचार्यले प्लास्टिकका झोला निषेध गर्न, दिगो जीवनशैली र चक्रीय अर्थव्यवस्थाको विकासका लागि विभिन्न अभियानको नेतृत्व गरेकी छिन् । डब्लूडब्लूएफबाट सन् २०१८ मा संरक्षण पुरस्कार प्राप्त गरेकी उनलाई ग्लोबल गुड फुडले उदाँउदो युवा सामाजिक उद्यमीका रूपमा पहिचान गरेको छ ।
राजकुमार बानियाँ
कान्तिपुर, नागरिक, नयाँ पत्रिका, राजधानीलगायत थुप्रै प्रतिष्ठित पत्रिकामा २५ वर्ष काम गरिसकेका उनी समीक्षा, प्रोफाइल लेखन तथा सम्पादनका लागि परिचित छन् ।
डा. रोलिना धिताल
स्वास्थ्य अनुसन्धाता तथा मेडिकल डाक्टर रोलिना धिताल नवीन स्वास्थ्य समाधान खोज्ने हेल्थ एक्सन एन्ड रिसर्चकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । विभिन्न अन्तर्राष्ट्रिय जर्नलका लागि थुप्रै अनुसन्धानमूलक पेपर लेखेकी उनी कोभिडसम्बन्धी अनुसन्धानमा संलग्न छिन् ।
रोशन मिश्र
तारागाउँ सङ्ग्रहालयका निर्देशक रोशन मिश्रले नेपाल आर्किटेक्चर आर्काइभको व्यवस्थापन गर्छन् । नेपालका हराएका सम्पदाहरूको अभिलेख राख्न सन् २०१९ मा ग्लोबल नेपाली म्युजियमको सुरुवातकर्ता उनी आफ्ना बुबा मनुजबाबु मिश्रमा समर्पित मिश्र म्युजियमका संस्थापक पनि हुन् ।
निश्चल बस्नेत
नेपाली फिल्म निर्देशक, कलाकार एवम् गायक निश्चन बस्नेतले ‘लुट १’, ‘टलकजङ्ग भर्सेस टुल्के’ र ‘लुट २’ फिल्म निर्देशन गरेका छन् । ‘कबड्डी’, ‘दुई रूपैयाँ’, ‘प्रसाद’लगायतका फिल्ममा अभिनय गरेका उनले सर्वोकृष्ट निर्देशकका लागि राष्ट्रिय फिल्म पुरस्कारलगायत थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन् ।
विश्व पौडेल
काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टका सहप्राध्यापक तथा इन्टरनेसनल लेबर अर्गनाइजेसनका वरिष्ठ अर्थशास्त्री विश्व पौडेल कान्तिपुर दैनिकका स्तम्भकार पनि हुन् । ऊर्जा, श्रम, प्राकृतिक स्रोत, अर्थशास्त्र आदि विषयमा उनी विशेष दखल राख्छन् ।
आयुषी केसी
फोहोर व्यवस्थापनमा कार्यरत कामदारहरूलाई फोहोर बिक्रेतासँग जोड्ने फोहोर व्यवस्थापन मञ्च खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत हुन् आयुषी केसी । वस्तुहरूको पुनः प्रयोगबारे जनचेतना बढाउने काममा प्रतिबद्ध उनको नेपालमा फोहोर व्यवस्थापन उद्योग स्थापना गर्ने सपना छ । ‘फोब्र्स’ पत्रिकाले निकाल्ने ३० वर्षमुनिका ३० व्यक्तिको सूचीमा उनी परेकी थिइन् ।
प्रियङ्का कार्की
सन् २००५ की मिस टिन नेपाल प्रियङ्का कार्की लोकप्रिय कलाकार हुन् । महिला तथा बालबालिकाको स्वास्थ्य, सरसफाइ, शिक्षा, महिनावारी स्वच्छता आदिमा काम गर्ने उनले सन् २०१८ मा आयेंका फाउन्डेसन सहस्थापना गरेकी छन् । सन् २०१९ मा जस्ट एनोदर लभ स्टोरीमार्फत निर्देशन र निर्माणमा हात हालेकी उनले आफ्नै लेखन र निर्देशनमा बन्न लागेको ‘वसन्त’ नामक फिल्मको छायांकन भर्खरै सकेकी छिन् ।
रवीन्द्र पुरी
सांस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरी युनेस्कोको एसिया प्यासिफिक कल्चरल हेरिटेज कन्जर्भेसन अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन् । पनौती र भक्तपुरस्थित नेपाल भोकेसनल एकेडेमीमार्फत उनले वास्तुकलाको संरक्षणका लागि बर्सेनि दुई सय जना दक्ष जनशक्ति उत्पादन गर्छन् । परम्परागत वास्तुकलाको संरक्षणका लागि लगभग चार सय जना कामदारको नेतृत्व गर्छन् । कला चोरीबारे मानिसलाई सचेत गराउन उनले म्युजियम अफ स्टोलन आर्ट स्थापना गरेका छन्, जसका लागि उनी महेन्द्र विद्याभूषण पुरस्कारबाट सम्मानित भएका छन् ।
सोबिता गौतम
पत्रकार तथा युवा कार्यकर्ता सोबिता गौतमले नेपाल टेलिभिजनको साप्ताहिक कार्यक्रम स्वास्थ्य सरोकार चलाउँछिन् । एसोसिएसन अफ युथ अर्गनाइजेसन नेपालकी कार्यकारी बोर्ड सदस्य हुन् । इतिहास र राजनीतिक विज्ञानमा स्नातक गौतम कानुनकी विद्यार्थी पनि हुन् ।
स्वेच्छा राउत
मानव चासो र कला एवम् संस्कृतिसम्बन्धी समाचार लेख्न रुचाउने पत्रकार स्वेच्छा राउत न्युज पोर्टल पहिलोपोस्टमा आबद्ध छिन् ।
हरि खनाल
कपिलवस्तुका हरि खनालले बाली विज्ञानमा डिप्लोमा गर्दै छन् । साहित्य र अध्यात्ममा रुचि राख्ने उनी अपराध गर्नेहरूलाई सजायले होइन, शिक्षाले सुधार्न सकिन्छ भन्ने धारणा राख्छन् । कैदीहरूलाई प्रज्ञावान् बनाउन सके असल समाज निर्माणमा उनीहरूको पनि योगदान रहन सक्छ भनेर साथीहरूसँग मिलेर कारागारमा पुस्तकालय निर्माणमा जुटेका छन् ।
बिकेश कविन
महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट पत्रकारिता र अङ्ग्रेजीमा स्नातक तहमा अध्यययनरत बिकेश कविन पठन संस्कृतिको विकासमा निरन्तर काम गरिरहेका छन् । कथा, कविता, निबन्ध लेख्ने उनका लेख, रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
चन्द्रप्रकाश बानियाँ
लामो समय शिक्षण पेशामा लागेका चन्दप्रकाश बानियाँ पूर्वप्रतिनिधिसभा सदस्य हुन् । विविध उपन्यासका सर्जक उनको पछिल्लो उपन्यास ‘महारानी’ले मदन पुरस्कार प्राप्त गरेकोे छ । उनले ‘बानियाँ दर्पण’, ‘जाल्पा’लगायत पुस्तक सम्पादनसमेत गरेका छन् ।
दुर्गा कार्की
दुर्गा कार्की प्रशिक्षणका हिसाबले वकिल, रुचिका हिसाबले पत्रकार र लगावका हिसाबले लेखक हुन् । विभिन्न दैनिक पत्रिका र अनलाइन पोर्टलका लागि आख्यान र गैरआख्यान लेख्ने उनको पहिलो कृति कथासङ्ग्रह ‘कुमारी प्रश्नहरू’ प्रकाशित छ ।
आभास्ना पाण्डे
सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम नेपालकी कार्यक्रम व्यवस्थापक आभास्ना पाण्डेले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नाकोत्तर गरेकी छन् । ‘द काठमाडौं पोस्ट’को विचारपृष्ठ सम्पादक भएर काम गरिसकेकी उनका लेख ‘द काठमाडौं पोस्ट’, ‘द रेकर्ड’ र ‘स्टिम्सन सेन्टर’को अनलाइन प्लेटफर्ममा प्रकाशित छन् ।
केशव दाहाल
केशव दाहाल राजनीतिक–सामाजिक अभियान र लेखनमा सक्रिय छन् । ‘कान्तिपुर दैनिक’लगायत विभिन्न पत्रपत्रिकामा नियमित राजनीतिक स्तम्भ लेख्ने दाहालको ‘नेपाली राजनीतिको पुनर्गठन’ (गैरआख्यान) र ‘मोक्षभूमि’ (उपन्यास) प्रकाशित छन् ।
कुवेर चालिसे
अढाई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका कुवेर चालिसे नेपाली तथा अङ्ग्रेजी पत्रिकामा काम गर्ने सीमित पत्रकारमध्ये पर्छन् । ‘द हिमालयन टाइम्स’, ‘अन्नपूर्ण पोस्ट’ र ‘रिपब्लिका’मा व्यापार एवम् आर्थिक ब्युरो प्रमुखका रूपमा काम गरिसकेका उनी हाल आर्थिक पत्रिका ‘कारोबार दैनिक’का सम्पादक हुन् ।
भाष्कर ढुङ्गाना
फिल्मकर्मी र सिने उद्यमी भाष्कर ढुंगाना ‘कागबेनी’का लेखक र निर्माता, ‘सानो संसार’का निर्माता र ‘सुन्तली फिल्म्स’का निर्देशक, निर्माता हुन् । उनी क्वुएफएक्स सिनेमाज र डिजिटल सिनेमा नेपालका सहसंस्थापकसमेत हुन् ।
अरनिको पाण्डे
युलेन्स एजुकेसनल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत अरनिको पाण्डेले वातावरण विज्ञान तथा सार्वजनिक नीतिमा हार्भर्ड विश्वविद्यालयबाट स्नातक, विसकन्सिन विश्वविद्यालयबाट भूमिस्रोतमा स्नानकोत्तर र म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वायुमण्डलीय विज्ञानमा विद्यावारिधि गरेका छन् । जनवरी २०२० सम्म इसिमोडको वायुमण्डल कार्यक्रमको क्षेत्रीय कार्यक्रम व्यवस्थापक पाण्डेले संयुक्त राष्ट्रसङ्घको क्लाइमेट एन्ड क्लिन एयर कोअलिसनको सञ्चालक समिति र नेपाल सरकारका विभिन्न कार्यदलमा रहेर काम गरेका छन् ।
आलोक तुलाधर
वृतचित्र फिल्म निर्माता आलोक तुलाधर प्राकृतिक र मानवनिर्मित सम्पदाको अभिलेखीकरणमा रुचि राख्छन् । मूर्त र अमूर्त नेपाली संस्कृतिको संरक्षण अभियानमा लागेका उनले कम्प्युटर सफ्टवेयरका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेका छन् ।
मनुश्री महत
कक्षा १० मा अध्ययनरत १६ वर्षीया मनुश्री महत स्कुल छुट्टीको समय किताबसँग बिताउन चाहन्छिन् ।
पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हुन् । उनी नेकपाको गण्डकी प्रदेश इन्चार्जसमेत हुन् । तत्कालीन नेकपा एमालेका सचिव भएर काम गरिसकेका गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका छन् ।
किरण गुरुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत हुन् । उनी पूर्व वन, वातावरण तथा भूसंरक्षणमन्त्री हुन् ।
मञ्जुदेवी गुरुङ
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला कमिटीकी सदस्य हुन् । उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत हुन् ।
सीता सुन्दास
जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीता सुन्दास जिल्ला समन्वय समिति महासङ्घकी केन्द्रीय अध्यक्षसमेत हुन् ।
प्रदीप रोदन
साहित्य साधना प्रतिष्ठान, गोरखाका महासचिव प्रदीप रोदन दमदार गजल र प्रस्तुतिले चर्चित छन् । नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका रोदन अध्यापन गर्छन् ।
अमृत सुवेदी
गजल सन्ध्या पोखराको नेतृत्व गरिसकेका अमृत सुवेदी साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । उनी ‘अनलाइनखबर डटकम’को गण्डकी प्रमुख र ‘समाधान दैनिक’का वरिष्ठ संवाददाता हुन् ।
सौगात वाग्ले
२० वर्षीय सौगात वाग्ले जन्मजात दृष्टिविहीन हुन् । नेसनल कलेजमा बिए तहको डेभलपमेन्ट फाइनान्स पढ्दै गरेका उनी बैङकिङ क्षेत्रमा दृष्टिविहीनहरूको पहुँच विस्तार गर्ने अभियानमा लागेका छन् । उनले राष्ट्रिय स्तरमा नेपाल सरकारले प्रदान गर्ने ‘नेसनल भोलेन्टियर अवार्ड २०२०’ लगायत पुरस्कार प्राप्त गरेका छन् ।
भावना तामाङ
सिन्धुपाल्चोकको ज्यामिरेमा जन्मेकी भावना पेसाले चिकित्सक हुन् । काठमाडौँको बौद्धमा रहेको मासिक सय रूपैयाँमा पठनपाठन हुने समता शिक्षा निकेतनबाट माध्यमिक शिक्षा पूरा गरेकी भावना विद्यालय स्तरको शिक्षा र त्यसको गुणस्तरमा निकै चासो राख्छिन् । चरम पारिवारिक गरिबीबीच समता स्कुलमा पढ्ने अवसर पाएकी भावना गरिबीकै कारण कसैले पनि पढ्ने अवसरबाट वञ्चित हुनु नपर्ने समाजको वकालत गर्छिन् ।
जगन्नाथ लामिछाने
लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछाने सामाजिक सञ्जालमा ‘जगरनट माइन्डसेट’का नाममा परिचित छन् । ट्रेन्डिङ नेपाल तथा जगरनट माइन्डसेट फेसबुक पेजमार्फत ‘के छ हालखबर’ छलफल सो सञ्चालन गरिरहेका उनले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा एमएससी इन ग्लोबल मेन्टल हेल्थ अध्ययन गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१५ मा मेन्टलहेल्थ क्षेत्रमा दिइने आउटस्ट्यान्डिङ अवार्ड प्राप्त गरेका उनलाई सामाजिक राजनीतिक अभियानमा गहिरो रुचि छ ।
इल्या भट्टराई
इल्या भट्टराई मूलतः कथाकार हुन् । उनका ‘मनमनै त हो’, ‘निःशब्द प्रश्नहरू’लगायत पाँच ओटा कथासङ्ग्रह र एक बालकथासङ्ग्रह प्रकाशित छन् । चार ओटा नियात्रासङ्ग्रह पनि प्रकाशन गरेकी उनको नियात्रा ‘दक्षिणायन’ले २०७५ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो । उनी पेन इन्टरनेसनल नेपाल र फाउन्डेसन अफ राइटर्स एन्ड लिटरेचरकी सदस्यसमेत हुन् ।
यज्ञश
‘कान्तिपुर पब्लिकेसन’को अनलाइन पोर्टल ‘इकान्तिपुर’का प्रमुख यज्ञश फिल्म समीक्षा र प्रोफाइल लेखनका लागि परिचित छन् । हिन्दी लेखक उदय प्रकाशका दुई पुस्तक ‘मोहनदास’ र ‘नेलकटर’ अनुवाद गरेका उनको ‘भुइयाँ’ पुस्तक प्रकाशित छ ।
बोनिता शर्मा
गैरनाफामूलक संस्था सोचाइकी सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मालाई बिबिसीले संसारका सबैभन्दा प्रभावशाली सय महिलाको सूचीमा राखेको थियो । उनले बिल र मेलिन्डा गेट्स फाउन्डेसनले दिने गोलकिपर ग्लोबल गोल्स प्रोगेस अवार्डसमेत प्राप्त गरेकी छिन् ।
दीपक परियार
पोखरामा १३ वर्षदेखि पत्रकारिता गरिरहेका दीपक परियार ‘कान्तिपुर दैनिक’का उपसम्पादक हुन् ।
सोनिका मानन्धर
अलोई टेक्नोलोजिजकी सहसंस्थापक एवम् प्रमुख टेक्नोलोजी अधिकृत सोनिका मानन्धरले माइक्रोसफ्ट इनोभेसन सेन्टरलगायत संस्थामा सफ्टवेयर प्रोग्रामरका रूपमा एक दशकभन्दा बढी समय काम गरेकी छिन् । उनले र उनको संस्थाले युनाइटेड नेसन्स क्यापिटल डेभलपमेन्ट फन्ड, युनाइटेड नेसन्स इकोनमिक एन्ड सोसल कमिसन फर एसिया एन्ड द प्यासिफिक जस्ता संस्थामा थुप्रै पुरस्कार पाएका छन् । युनाइटेड नेसन्स इन्भायरोनमेन्ट प्रोग्रामको योंग चाम्पियन्स अफ द अर्थ २०१९, एसिया एन्ड द प्यासिफिक सूचीमा उनी परेकी थिइन् । त्यस्तै नेसनल जियोग्राफिक सोसाइटीले उनलाई इमिर्जिङ एक्सप्लोरर २०२० को सूचीमा राखेको थियो । त्रिभुवन विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ गरेकी उनले सिंगुलर युनिभर्सिटी, अमेरिका र कोरिया एरोस्पेस रिसर्च इन्स्टिच्युटमा अध्ययन गरेकी छिन् ।
बसन्त बस्नेत
‘शिलापत्र मल्टिमिडिया पत्रिका’का प्रधान सम्पादक बसन्त बस्नेत एक दशकयता मूलधारको पत्रकारितामा क्रियाशील छन् । ‘कान्तिपुर’, ‘नागरिक’ र ‘अन्नपूर्ण पोस्ट’को सम्पादकीय जिम्मेवारी तथा विभिन्न विभागको नेतृत्व गरिसकेका उनको समकालीन राजनीतिक इतिहाससम्बन्धी गैरआख्यान ‘७२को विस्मय’ प्रकाशित छ । उनको ‘च्या खानु भो ?’ नामक टक सो पछिल्लो समय चर्चित छ ।
डा. अनुप सुवेदी
संक्रामक रोग विशेषज्ञ चिकित्सक अनुप सुवेदीले जनस्वास्थ्य विषय पनि अध्ययन गरेका छन् । मुख्यतः नेपालीले सामना गर्नुपरेका स्वास्थ्य सेवा र जनस्वास्थ्य क्षेत्रका समस्याबारे जानकार उनले कोभिड–१९ को महामारीमा नेपालीका चासोका कुराबारे लेख्दै–बोल्दै आएका छन् ।
मिलन बगाले
वास्तु एवम् ग्रामीण विकासविज्ञ मिलन बगाले हाल संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनामा परामर्शदाता छन् । बसोवास पद्धति, निर्माण संस्कृति र सम्पदा संरक्षणका विषयमा कलम चलाइरहेका बगालेले ‘देशदृष्टि’ र ‘प्रयागदत्त तिवारीको कृषिकथा’ नामक पुस्तक लेखेका छन् । सात वर्षयता उनले ‘हिमाल खबरपत्रिका’मा ‘देशदृष्टि’ स्तम्भअन्तर्गत लेख लेखिरहेका छन् ।
शिवानी सिंह थारु
नेपाल टेलिभिजनको कार्यक्रम ‘मेरो गीत मेरो सन्देश’ र ‘मूल्याङ्कन’की प्रस्तोता रहिसकेकी शिवानीसिंह थारूले बिबिसीको रेडियो नाटक ‘कथा मीठो सारङ्गीको’मा लेखक र निर्देशकका रूपमा काम गरेकी छिन् । बिबिसीकै रेडियो नाटक ‘कथामाला’को लेखन र वाचन पनि गरेकी उनले लेखेको नाटक ‘भर्चुअल रियालिटी’ भारतको नेसनल स्कुल अफ ड्रामाको नवौं नाट्य महोत्सवमा नेपालको एक्टर्स स्टुडियोले मञ्चन गरिसकेको छ । ‘काठमाडौंमा एक दिन’ उनको पहिलो उपन्यास हो ।
प्रकृति भट्टराई बस्नेत
महिलाका लागि राजनीतिक साक्षरता (पोलिटिकल लिटरेसी फर विमन)की संस्थापक अध्यक्ष प्रकृति भट्टराई बस्नेत महिलाका लागि राजनीतिक स्थान बढाउन निकै सक्रिय छिन् । २१ वर्षीया प्रकृति महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान ‘अझै कति सहने ?’की एक अभियन्ता पनि हुन् । उनले नागरिक मिडियासँगको सहकार्यमा सामाजिक–राजनीतिक मुद्दा समेटेर ३द्दण्घण् नामक छलफल कार्यक्रम चलाउँछिन् ।
निरञ्जन कुँवर
निरञ्जन कुँवर अनुवादक र लेखक हुन् । उनको ‘बिट्विन द क्विन्स एन्ड द सिटिज’ पुस्तक प्रकाशित छ ।
भिक्कु कश्यप
भिक्कु कश्यप (सुनिल बाबु पन्त) ब्लु डायमन्ड सोसाइटीका संस्थापक र पूर्वराजनीतिज्ञ हुन् । कश्यप उनलाई बुद्ध गुरुले दिनुभएको नाम हो ।
Comments