वि.सं. १९८२ सालको असार १० गते काठमाडौँको ओमबहालमा जन्मेका विजय मल्ल मुलत: कलाकार, राजनीतिज्ञ, चित्रकार,खेलाडी, अभिनेता र त्यसपछि साहित्यकार हुन्; सायदै यो कुरा हामीलाई थाहा छ ।
‘अनुराधा’ उपन्यास लेखेर उपन्यासको क्षेत्रलाई अर्कै उचाइमा पुर्याएका मल्लले ‘कोही किन बरबाद होस्’ नाटक लेखेर नेपाली नाटक क्षेत्रलाई पनि एउटा बेग्लै शिखरमा पुराए । उसैगरी ‘परेवा र कैदी’ नेपाली कथाक्षेत्रको एक उत्कृष्ट कथाकृति हो । ‘छोरीलाई मानचित्र पढाउँदा’ कविताले लेखेर कविताको शिखर चुमेका मल्लको ‘पत्थरको कथा‘ उत्तीकै शशक्त एकाङ्की सङ्ग्रह हो ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उप कुलपति, नेपाल लेखक सङ्घका सचिव, साहित्य संस्थानका उपाध्यक्ष, गौरीशंकर नाट्य समुदायका सचिव समेत भएका मल्लको ‘एक बाटो अनेक मोड’ कथासंग्रहलाई २०२७ सालको साझा पुरस्कार पनि दिइएको थियो । सबै साहित्यिक विधालाई उत्तिकै प्रेम गर्ने मल्लको प्रकाशित कृतिहरु पढीरहँदा नाटक विधाप्रति उनको अलिक बेसी झुकाव थियो कि झैँ देखिन्छ ।
नेपाली साहित्य जगतको मूर्धन्य साहित्यकार विजय मल्लको ७४ वर्षको उमेरमा वि.सं. २०५६ साल साउन ८ गते काठमाडौ मै निधन भएको हो !
प्रस्तुत छ उनका दुई कविता “यान्त्रिकता” र “छोरीलाई मानचित्र पढाउँदा”
यान्त्रिकता
सडक-सडक, होटल-होटलमा
कागजका कोरा पर्चाहरूमा
केही लेखिएजस्तो, केही कोरिएजस्तो
यन्त्रमानव
पकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ ।
मानौँ यस दुनियाँमा केही भएको छैन
मानौँ यहाँ केही समस्या नै छैन!
ए पत्थरका सालिकहरू,
तिम्रो जीवन र मृत्युलाई छुट्ट्याउन पनि गाह्रो भो,
साँच्चै गाह्रो भो!
***
छोरीलाई मानचित्र पढाउँदा
रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हरे, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दू-मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान् !
यो जर्मनी, यो इङ्गल्यान्ड
यो रुस, यो जापान ।
अणुबमले खाएको,
हेर नागासाकी, हिरोसिमा !
हिटलरको भूतले सताएको
यही हो युरोप कङ्काल,
यही हो अमेरिका,
डलरको देश-
'अणुबम' को निर्माता
शान्तिको सन्देश ।
जता हेर,
रातो रगतले लाएको छ घेरा
परेवालाई गन्जकमा बन्द गरेझैँ
मानिस छन् बन्दी यस खोरमा ।
मेरी छोरी,
(कुनै दिन त्यस्तो आउला)
जब सबले मिलेर,
हातमा हात गाँसेर,
अङ्कमालमा बाँधिएर-
हब्सी, आर्य, मङ्गोल
पलिनिसियन, द्रविड, काले
सबले पुछ्नेछन्
आँखाको प्याला घोप्ट्याएर
आसुँले त्यो रक्तरेखा ।
अनि,
धेरै कालपछि-
मेरी छोरी,
कुनै दिन त्यस्तो आउला
त्यो रातो रेखा खोजे पनि
तिमी पाउनेछैनौं त्यहाँ ।
Comments