आधुनिक नेपाली मनोबैज्ञानिक कथा तथा उपन्यासका क्षेत्रमा तारिणीप्रसाद कोइराला एक महत्त्वपूर्ण नाम हो ।
तारिणीप्रसाद कोइरालाको जन्म वि.सं. १९७९ वैशाख १८ गते भएको हो । उनी वास्तविक अर्थमा बहुआयामिक व्यक्तित्वका धनी मानिस थिए । देशको पहिलो रेडियोकर्मी, पहिलो स्टेसन म्यानेजर, जनजागरण-गानका पहिलो लेखक, उच्चकोटीका कवि, गीतकार र कथाशिल्पी, आख्यान साहित्यमा बाल-यौनमनोविज्ञानको पहिलो प्रयोक्ता उनले, आफ्नो मेधा, कर्मठता र प्रयोगशील रचनात्मकताका बलमा आधुनिक नेपाली समाजको विकासक्रममा अति नै महत्त्वपूर्ण योगदान गरेका थिए ।
उनको बहुप्रतिभाशाली व्यक्तिको जीवनी, कृतित्व र उनले जीवनमा आर्जन गरेका उपलब्धिको अभिलेख सँगालेर "तारिणीप्रसाद कोइराला, एक दृष्टि : अनेक स्मृति" शीर्षकमा एउटा स्मृतिग्रन्थको प्रकाशित छ । तारिणीप्रसाद कोइराला एक प्रयोगवादी लेखक थिए । बाल-यौनमनोविज्ञानमा आधारित उपन्यास 'सर्पदंश' लेखेर उनले एउटा नितान्त नौलो क्षितिज नेपाली साहित्यमा खोलिदिएका छन् । उनका यौन मनोबैज्ञानिक उपन्यास 'अग्निबाटिका', 'फालिएको समान'ले नेपाली साहित्यले छुट्टै योगदान दिएको छ । उनले भगवतीचरण वर्माको सुप्रख्यात उपन्यास 'चित्रलेखा' नेपालीमा अनुवाद पनि गरेका छन् । उनका किताबहरू पढ्दा जीवन र जगत्प्रतिको दृष्टिकोण फरक भएर आउँछ । तारिणीप्रसाद मूलतः एक भावुक हृदय, रोमान्टिक कवि र साहित्यकार थिए ।
उनका आठवटा उपन्यास र थुप्रै फुटकर कथाहरूले नेपाली साहित्यको ढुकुटीलाई भरिपूर्ण पारिदिएका छन् । उनमा साहित्यिक व्यक्तित्वको साथसाथै राजनीतिक व्यक्तित्व पनि थियो । विश्वविख्यात राजनीतिज्ञ भएर पनि आफ्नो साहित्यलेखनमा त्यसको एउटा छिटो पनि पर्न नदिनु विश्वेश्वरप्रसादको विशेषता हो भने त्यसबाट बच्न चाहिँ तारिणीप्रसाद कोइरालाले नसकेको स्पष्टै देखिन्छ । किनकि उनका अधिकांश आत्मसंस्मरणात्मक कथाहरूमा राजनीति नै मुख्य विषयवस्तु बनेको प्रतीत हुन्छ ।
उनी अङ्ग्रेजी, हिन्दी र फ्रेञ्च गरी तीनवटा विदेशी भाषाका ज्ञाता पनि थिए ।
कथाकार तारिणीप्रसाद कोइरालाका खास प्रवृत्तिलाई कोट्याउँदा मनोविज्ञान, यौनमनोविज्ञान, तत्कालीन सामाजिक, राजनीतिक यथार्थको प्रस्तुति, सरलता, सहजता र सरसता नै हुन् भन्ने देखिन्छ । सानैदेखि प्रवासी बन्नुपरेका कारणले गर्दा यिनको भाषामा हिन्दीको प्रभाव पनि छ । विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन्- "तारिणीको भाषा राम्रो छ, सर्र जाने वा राम्रो लेख्ने व्यक्ति उनी हुन् ।" विश्वेश्वरप्रसाद कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञानलाई विजय र भिक्षुले मात्र अनुकरण गरेनन् यसका अनुशीलनकर्ता तारिणीप्रसाद पनि भए । विश्वेश्वरप्रसादबाटै प्राप्त यौनवादलाई भिक्षुले उच्छृङ्खल बनाउन चाहेनन् भने तारिणीले चाहिँ आफ्नै दाजुको बिंडो थामेर यस धारालाई स्पष्ट वा छर्लङ्गै पार्ने जमर्को गरेको पाइन्छ, उनका कृतिहरूमा ।
[ विकिपिडियाको सहयोगले तयार पारिएको ]

यी किताबहरू अर्डर गर्नुहोस्ः http://kitabkiro.com/books/
Comments